हाम्रो फन्डमा संस्थागत भन्दा व्यक्तिगत सहभागिता बढी होस भन्ने चाहेका छौँ: सीइओ पन्त « Arthapath.com
३२ श्रावण २०८०, बिहीबार

हाम्रो फन्डमा संस्थागत भन्दा व्यक्तिगत सहभागिता बढी होस भन्ने चाहेका छौँ: सीइओ पन्त



काठमाडौं । हिमालयन क्यापिटलले पहिलो पटक म्युचुअल फन्ड निष्कासन गर्दैछ । क्यापिटले आज अर्थात बिहीबार (साउन ३२ गते) देखि बन्द मुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ निष्कासन भएको हो । कुल १ अर्ब रुपैयाँको १० करोड एकाइहरू बिक्रीका लागि खुला गर्न लागिएको हो । यस योजनाको परिपक्व हुने अवधि १० वर्षको रहेको छ । पहिलो पटक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउन लागेको हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) परमेश्वर पन्तसँग अर्थपथका लागि विक्रम सुनारले गरेको कुराकानीको सम्पादित अंश:

हिमालयन क्यापिटलले पहिलो पटक म्युचुअल फन्ड निष्कासन गर्न लागेको छ, यसबारे प्रारम्भिक प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

म्युचुअल फन्डको निष्कासनका लागि हिमालयन क्यापिटलले साढे तीन वर्ष अघिदेखि तयारी सुरु गरेको थियो । हामी त केवल कोष व्यवस्थापक (फन्ड म्यानेजर) मात्र हौँ, संरक्षक भनेको हिमालयन बैंक हो । विशेष गरी सेयर बजारमा समय दिन नसक्ने, तर सेयर बजार बुझ्न चाहने साना लगानीकर्तालाई लक्षित गरेर यो फन्ड ल्याउन लागेका छौँ । हामीले भनेको ‘८०–२०’ लगानीको रणनीति हो । गएको तीन वर्षमा हामीले सेयर बजार लगायतका धितो पत्रमा लगानी गर्ने, खरिद–बिक्रीको काम गर्यौैं । त्यसै दौरान जे जति सिकेका छौँ, त्यसको आधारमा लगानीको रणनीति बनाएर कार्यान्वयन गर्नका लागि यो म्युचुअल फन्ड निष्कासन गरेका हौँ । यसमा हाम्रो चाहाना भनेको सबैभन्दा धेरै व्यक्तिहरूको सहभागिता होस् भन्ने छ । अहिले अधिकांश म्युचुअल फन्डहरूको धेरै लगानी हेर्यौं भने व्यक्ति भन्दा संस्थागत बढी देखिन्छ । तर, हामीले व्यक्तिगत लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ कि भनेर लागेका छौँ ।

यो सामूहिक लगानकी कोषको आकार १ अर्ब रुपैयाँको हुने छ । भोलिका दिनमा अझै बढी माग भयो भने २५ प्रतिशतसम्म यसको वित्तीय आकार बढाउन सकिन्छ । पछिल्लो समय म्युचुअल फन्डहरूको विक्री उत्साहजनक छैन, । सेयर बजारमा पनि त्यति धेरै उत्साह छैन । अहिलेको फन्ड पनि बिक्री गर्न अलि कठिनाइ हुने अवस्था छ । तर, म्युचुअल फन्डमा लगानी गर्ने उत्तम समय यही हो । र लामो समयको लगानी हुने भएकाले राम्रो प्रतिफल दिन सक्ने सम्भावना धेरै छ ।

हरेक म्युचुअल फन्ड निकाष्शन भएपछि क्यापिटलका सीइओहरु बैंक तथा वित्तीय संस्थातर्फ नै कुदाकुद हुने गरेको छ । तर व्यक्तिगत लगानी प्रोत्साहन गरेर सबै एकाई विक्री गर्न तपाईँहरूसँग के आधार के छ ?

हामीले दुई वटै रणनीति अपनाएका छौँ । संस्थागत लगानीकर्ता पनि पक्कै चाहिन्छ । हालसम्मको अवस्था १० देखि १५ प्रतिशतसम्म मात्रै व्यक्तिगत लगानी भएको छ । आज पनि म्युचुअल फन्डहरू संस्थागत लगानीमा निर्भर छन् । तर, हामी खुद्रा विक्रीमा जानका लागि केन्द्रित छौँ । विशेष गरी सामाजिक सञ्जालहरूको प्रयोगबाट नै ग्राहकसमक्ष पुग्न खोजिरहेका छौँ ।

हिमालयन बैंकको ब्रान्डलाई परिचालन गरेर पनि बैंकका ग्राहकसम्म पुग्ने कोसिस गरेका छौँ । म्युचुअल फन्ड के हो ? किन लगानी गर्ने जस्तो विषयमा सचेतना र लगानी प्रवर्द्धनका लागि सूचना केन्द्र नै स्थापना गर्ने लगायतका कार्यहरू भइरहेका छन् । सर्वसाधारण लगानीकर्तासङको अन्तरक्रिया पनि भइरहेका छन् । त्यसमा राम्रै प्रतिक्रिया आइरहेको छ । फेसबुकको माध्यमाबाट २ लाखभन्दा बढी ग्राहकसँग हामी पुगिसकेका छौँ । यसबाट एकदम सकारात्मक प्रतिक्रियाहरू पाएका छौँ, जसले हामीलाई निकै नै उत्साही बनाएको छ ।

यो फन्डलाई हिमालयन बैंकको साख (ब्रान्ड)सँग पनि जोडिन्छ । तर, क्यापिटलले ल्याएको फन्डमा सर्वसाधारण लगानीकर्ताले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

हिमालयन बैंकको ब्रान्डमा हामीले शतप्रतिशत धारण गर्छौँ । यो बैंक नेपालमा पुरानो बैंक पनि हो । बैकले सूचना प्रविधि र सेवा क्षेत्रमा पनि धेरै नवप्रवर्तन (इनोभेसन) गरेको छ । आम मानिसमा पनि हिमालयन भन्ने बित्तिकै केही न केही नयाँ गर्छ भन्ने अपेक्षा हुन्छ । त्यसले हामीलाई फाइदा पनि छ, काम गर्न दबाब पनि छ ।

विगत १ वर्षदेखिको तथ्याङ्क हेर्ने हो भने अधिकांश म्युचुअल फन्डमा सबै विक्री हुन नसकेको अवस्था छ । त्यसमा पनि सेयर बजार घटेको वेलामा फन्ड ल्याउनु कत्तिको चुनौतीपूर्ण छ ?

म्युचुअल फन्ड हाम्रो वित्तीय बजारका लागि एकदमै चाहिने उपकरण हो । अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने आजको दिनसम्म यस प्रकारको उपकरणको मात्रै बजार आकार मापन गर्दा करिब ६ नील (६० ट्रिलियन) अमेरिकी डलरको बराबर छ । धितो पत्र बजार विकासका लागि म्युचुअल फन्डले ठुलो भूमिका खेलिरहेको हुन्छ ।

हामीले बुझ्नु पर्ने कुरा के हो भने, सेयर बजार घट्ने वा बढ्ने भइरहन्छ । सधैँ माथि गइरहने, सधैँ तल झरिरहने भन्ने हुँदैन । यसको आफ्नो मौलिक प्रवृत्ति हुन्छ । अहिले बजार तल भइरहेको बेलामा म्युचुअल फन्ड बिकाउन गाह्रो भएको देखिन्छ । अहिलेको अवस्था त सिङ्गो सेयर बजार नै अन्तरक्रियात्मक चरणमा छ । कुनै बेला ३२ सय अङ्कभन्दा माथि पुगेर १८ सयसम्मको तहमा झरेपछि अहिले २०००–२२०० को वरिपरि चलिरहेको छ ।

यस्तो बेलामा मासिनमा डर हुन्छ । घटेको बेला लगानी डुब्छ कि, प्रतिफल राम्रो दिँदैन कि, भन्ने लागेको हुन्छ । तर, लामो अवधिका लागि लगानी गर्न सबैभन्दा सही समय नै यही हो । बजार ‘कन्सल्टेसन फेज’मा भएका बेला लगानी गरियो भने लामो अवधिको लगानी पनि निर्धक्क भएर गर्न सकिन्छ । यस्तो लगानीमा प्रतिफल दिन सक्ने क्षमता पनि राम्रो हुने गर्दछ ।

आजको दिनमा म्युचुअल फन्ड बिक्री गर्न गाह्रो छ, त्यसमा दुई मत छैन । तर, नेपालमा अहिलेसम्म परिपक्व भएका फन्डहरू हेर्नुभयो भने त्यसले एकाई धनीहरूलाई हरेक वर्ष राम्रो प्रतिफल दिएको इतिहाँस छ । म्युचुअल फण्डहरुले समग्रमा मुद्दती निक्षेपभन्दा राम्रै प्रतिफल दिएका छन् ।

हिमालयन क्यापिटलको फन्डमा सर्वसाधारणले किन लगानी गर्ने ?

लगानीकर्ताले एउटै क्षेत्रमा आफ्नो लगानीलाई केन्द्रित राख्नुभयो भने भोलिका दिनमा जोखिम ल्याउन सक्छ । हाम्रो पहिलेदेखि कै चलन हेर्ने हो भने घरजग्गा र सुनचाँदीमा लगानी गर्ने गरेका छौँ । तर, सेयर बजारमा भने सानो सङ्ख्यामा मात्रै लगानी भएको छ । यसो हुनुको कारण हो, हाम्रो बजार भर्खर एउटा न्यूनतम चरणमा पुग्दैछ ।

अब यसमा लगानी विविधीकरण गरियो भने पोर्टफोलियोमा सन्तुलन हुन्छ । कुनै एउटा क्षेत्रमा अधिक निर्भरता हुनुको साटो अब हामीले पनि आफ्नो लगानीलाई विविधीकरण गर्नुपर्यो । सेयरमा लगानी गर्न धेरै समय खर्चिनुपर्छ, विशेष ज्ञान हुनुपर्छ । तर, म्युचुअल फन्ड एउटा यस्तो माध्यम हो, जसबाट व्यक्तिगत लगानीकर्ताले सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ । म्युचुअल फन्डमा धेरै लगानी पनि चाहिँदैन, एकै पटक धेरै कम्पनीहरूमा लगानी गर्न सकिन्छ ।

हामीले फन्ड म्यानेज (व्यवस्थापन)मात्रै गरिदिने हो । हामीले सकेसम्म बढी प्रतिफल दिने गरी काम गर्ने हो । त्यसपछि मात्र दोस्रो, तेस्रो गरी अन्य थप म्युचुअल फन्ड ल्याउन सकिन्छ । त्यसले मात्र म्युचुअल फन्डमा आम मानिसको विश्वास बढ्छ । हाम्रो उद्देश्य पनि जति सक्दो राम्रो प्रतिफल एकाईधनीको हातमा पुर्‍याउने हो ।

हिमालयन क्यापिटलले ल्याउने फन्डको प्रतिफल पूर्वानुमान कस्तो छ ?

हामीले जारी गर्ने फन्डको अवधि १० वर्षको छ । अहिले बजारको स्थिति र अन्य तथ्याङ्क केलाउँदा हामीले औसतमा वार्षिक २० प्रतिशत प्रतिफल दिन सकिन्छ भन्ने अनुमान गरेका छौँ । कुनै वर्ष अलि बढी पनि आउन सक्छ, कहिले कम पनि हुन सक्छ । १० वर्षको अवधिमा बजार प्राकृत रूपमा अघि बढ्यो भने दुई वटा बुलसम्म यो म्युचुअल फन्ड देख्न सकिने छ ।

सेयर बजार अबको १–२ वर्षमै पहिलेको कीर्तिमानी उचाइमा पुग्न सक्ने देखिन्छ । यद्यपि, यसमा विभिन्न पक्षले भूमिका खेल्छन् । बैंकिङ्ग क्षेत्रको कर्जा विस्तार कसरी अघि बढ्छ ? हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ, त्यसले पनि सेयर बजारको दिशा र स्तर निर्धारण गर्न ठुलो भूमिका खेल्छ । हामीले गरेको अनुमान मिल्यो भने कम्तीमा प्रत्येक वर्ष २० प्रतिशत प्रतिफल दिन सक्ने देखिन्छ । अर्को कुरा हामीले धेरै कमाई भयो भने पनि धेरै प्रतिफल बाँडेर खुद सम्पत्ति मूल्य (न्याभ) लाई धेरै कम गरेर बस्दैनौँ ।

साबिकको हिमालयन बैंक र सिभिल बैंक मर्जरमा गइसकेका छन् । अब बैंकको सहायक कम्पनी पनि हिमालयन क्यापिटल र सिभिल क्यापिटल कहिलेदेखि एउटै बन्छ ?

त्यसका लागि बैंकको पक्षबाट काम अघि बढिरहेको छ । यसमा विशेष गरी सञ्चालक समितिको निर्णय महत्त्वपूर्ण हुन्छ । हालसम्म दुवै कम्पनीको सम्पत्ति एवम् दायित्व मूल्याङ्कन (डिडिए) सकिएको छ । एक चरणको छलफल अघि बढिसकेको छ । अब आशा गरौँ, छिट्टै दुई क्यापिटलको पनि मर्जर टुङ्गिनेछ ।

एउटा कोष व्यवस्थापकको नजरमा अब नेपाली सेयर बजारले कुन बाटो लिन्छ होला ?

बजार तल गयो भने सधैं तल मात्रै जाँदैन, माथि गयो भने पनि माथि मात्रै जाँदैन । लगानीकर्ताले बुझ्नु पर्ने सामान्य नियम यही हो । तल गएपछि नै माथि जाने हो । तर, हाम्रो बजारलाई सानो–सानो सूचनाले पनि असर पारिरहेको देखिन्छ । लगानी मनोबल, अर्थतन्त्रको हालत, वित्तीय क्षेत्रको विस्तार जस्ता कुराहरू कसरी अगाडि बढिरहेको छ भन्ने कुराले ठुलो भूमिका खेल्छ । बैङ्किङ प्रणालीमा तरलता सहज भइरह्यो र कर्जा लगानी बढ्यो भने सेयर बजार पनि बिस्तारै माथि जान सक्ने सम्भावना छ । तर, २–३ वर्षमा पहिले कै अवस्था पुग्ने सम्भावना छ ।

अहिले भएका फन्डहरूको ‘न्याभ’ धेरै तल छ, जसले लगानीकर्ताको आकर्षक म्युचुअल फन्डमा अलि कम देखिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

म्युचुअल फन्ड भनेको यस्तो लगानी हो, जसले बजार तल जान लाग्यो भन्दैमा सबै सेयर बेचेर बस्न सक्दैन । म्युचुअल फन्ड एउटा बजार निर्माता उपकरण (मार्केट मेकर इन्सिटुमेन्ट) हो । यसले बजारलाई सहयोग गरिरहेको हुन्छ । बजार घट्दैछ भन्दैमा सबै सेयर बेचेर नगद थुपारेर बस्छु भन्न मिल्दैन । व्यक्तिगत लगानीकर्ताका लागि यो सुविधा हुन्छ । तर, म्युचुअल फन्डमा त्यो विकल्प छैन ।

म्युचुअल फन्डहरूमा इम्प्याक्ट ल्याउँदा न्याभ तल गहिरहेको देखिन्छ । तर, परिपक्व भएका फन्डहरूलाई हेर्ने हो भने १० रुपैयाँभन्दा माथि नै राखेर प्रतिफल दिएका छन् । प्रत्येक दिन न्याभ १० रुपैयाँभन्दा माथि राख्नु चुनौती नै छ । तर त्योभन्दा तल जान नदिन कोसिस अवश्य गर्नुपर्छ । प्रतिफल बाँड्दा पनि न्याभ मेन्टेन गरेर दिनुपर्छ । म्युचुअल फन्ड नै खत्तम हो भनेर सोच्नु ठिक होइन ।


प्रतिक्रिया दिनुहोस्