सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए, पानीको बहाव भने अझै उच्च « Arthapath.com
२९ श्रावण २०८०, सोमबार

सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए, पानीको बहाव भने अझै उच्च



काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।

पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिएपनि नदीको बहाव भने अझै उच्च छ । कोशीको पानी अझैपनि ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ । अझैपनि ब्यारेजका सबै ढोका खुला रहेको छ । बिहानको समयमा पानीको बहाव ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रतिसेकेण्डसम्म पुगेको र बहावमा उतारचढाव जारी रहेकाले पूर्ण शतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले उच्च बहावसँगै खोलिएका ब्यारेजका ५६ ढोकाको अवस्था हेरेर क्रमशः बन्द गरिने जनाएको छ ।

उता कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लो पटकको ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानी अहिलेसम्मकै तेस्रो उच्च बहाव हो । यसअघि ब्यारेजमा कोशी नदीको बहाव सन् १९६८ मा सबैभन्दा बढी ७ लाख क्युसेक मापन भएको थियो । १९८९ मा भने पानीको बहाव ४ लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

नदीको बहाव उच्च हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ भने यो चौथो पटक खोलिएको हो । यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सो बेला समेत पुलका सबै ढोका खोलिएको थियो ।


प्रतिक्रिया दिनुहोस्