सिक्सजी प्रविधि २०३० भित्र आइसक्ने भविष्यवाणी ! « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

सिक्सजी प्रविधि २०३० भित्र आइसक्ने भविष्यवाणी !



काठमाडौँ । अहिले शोध र अध्ययनकै क्रममा रहेको सिक्सजी प्रविधि यो दशकको अन्त्यसम्म अर्थात सन् २०३० भित्रमा सार्वजनिक प्रयोगमा आइसक्ने दूरसञ्चार सेवा प्रदायकहरूले जनाएका छन् । यसबारे धेरै कुरा आगामी वर्षहरूमा प्रष्ट हुँदै जाने उनीहरूले बताएका छन् ।

मोबाइल इन्टरनेटमा फाइभजी प्रविधिकै प्रयोगमा कठिनाइ र ढिलासुस्ती भइरहेको अहिलेको अवस्थामा विश्वका ठूला टेलिकम कम्पनी प्रमुखहरूले भने सिक्सजी प्रविधि सन् २०३० भित्रमा आइसक्ने भविष्यवाणी गरेका छन् । फाइभजी प्रविधिको शोध र पूर्वाधार स्थापनामा गरिएको सयौं अर्ब डलर लगानीको प्रतिफल उत्साहजनक नरहेको र संसारभरमै यो प्रविधिको विस्तार सोचेभन्दा ढिलो गतिमा भइरहेको परिप्रेक्षमा टेलिकम क्षेत्रका विज्ञहरूको यो अनुमान सार्वजनिक भएको हो ।

गत साता बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कङ्ग्रेसमा प्रमुख चासोको विषयमध्ये एक बनेको सिक्सजी प्रविधिबारे टेलिकम क्षेत्रका प्रमुखहरूले यस्तो आँकलन गरेका हुन् । ‘हुन त हामीले फाइभजी प्रविधिकै विकास सकाएका छैनौं,’ एसके टेलिकमका चिफ डिभलपमेन्ट अफिसर हा मिन योङले भनेका थिए, ‘अहिले नै सिक्सजी कस्तो र कसरी आउला भनेर कुरा गर्नु अलिक हतार हुनेछ ।’ बीटी टेक्नोलोजीका प्रमुख हवार्ड वाट्सनका अनुसार सन् २०३२ मा अस्ट्रेलियाको ब्रिस्बेनमा हुने ओलम्पिक खेलकुदका बेला सिक्सजी सार्वजनिक भइसक्नेछ । बजार अनुसन्धान गर्ने संस्था स्ट्राटेजी एनालिटिक्सका कार्यकारी निर्देशक निल मस्टनले भने सन् २०२९ मा सिक्सजी चल्ने स्मार्टफोनहरू बजारमा आउने बताए ।

सन् २०१९ देखि चीन, अमेरिका र दक्षिण कोरियामा शुरू भएको फाइभजी प्रविधिको विस्तार अहिले पनि जारी छ । पछिल्लो फोरजी प्रविधिभन्दा अत्यन्तै छिटो र स्तरीय हुने दाबी गरिएको फाइभजीप्रति कोभिड र आर्थिक मन्दी लगायत कारणहरूले विश्वव्यापी रूपमै ग्राहकको आकर्षण उल्लेख्य नरहेको टेलिकम विज्ञहरूको ठहर छ । ‘भारत लगायत देशहरूले अत्यन्तै द्रुत गतिमा फाइभजी प्रविधिको विस्तारका लागि पूर्वाधारमा काम गरिरहेका छन्, अबको चुनौती भनेको सयौं अर्ब डलरको लगानी भएको यो प्रविधिमा ग्राहकको आकर्षण बढाउनु हुनेछ,’ सीएसएस नेटवर्क टेलिकम पूर्वाधार निर्माता कम्पनीका प्रमुख रिचर्ड वेबको राय थियो ।

सिक्सजीका लागि अध्ययन र पहल जारी राख्दै फाइभजी सेवा विस्तारमा आफूहरूको ध्यान हुने टेलिकम प्रमुखहरूको भनाइ छ । फाइभजीमै प्रगति बाँकी रहेकाले अहिले सिक्सजीको कुरा गर्दा सेवाग्राही अन्योलमा पर्ने उनीहरूको बुझाइ छ । हाल अधिकांश फाइभजी नेटवर्कहरू फोरजीकै उपकरण र प्रविधिमाथि बनिरहेको भए पनि अब फाइभजीकै लागि विशुद्ध प्रविधि सार्वजनिक गर्ने तरखरमा सेवाप्रदायकहरू लागिपरेका छन् । त्यसपछि बल्ल फाइभजीको वास्तविक र सम्पूर्ण सम्भावना देखापर्नेछ । सिक्सजी ल्याउनुअघि फाइभजीलाई सुदृढ गर्नु आवश्यक रहेको उनीहरूको धारणा छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्