आर्थिक संकटबाट बाहिर निस्कन फ्रान्सले १०० अर्ब यूरो खर्च गर्ने « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

आर्थिक संकटबाट बाहिर निस्कन फ्रान्सले १०० अर्ब यूरो खर्च गर्ने



कामठाडौं । फ्रान्सले कोरोना भाइरस महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्नका लागि १०० अर्ब यूरोको ऐतिहासिक प्याकेज सार्वजनिक गरेको छ । यस प्याकेज अन्तर्गतको आर्थिक योजना अनुसार रोजगारी वृद्धि, संकटमा रहेका व्यवसायलाई माथि उकास्नुका साथै देशलाई गम्भीर आर्थिक संकटबाट बाहिर निकाल्ने योजना सरकारले प्रस्तुत गरेको छ ।

यो रकम देशको जिडिपीको करिब ४.५ प्रतिशत हो । यो सँगै फ्रान्सले यसै वर्षमात्र वित्तीय स्टिमुलसका रूपमा खर्च गर्ने रकम जिडिपीको कुल १० प्रतिशत पुग्नेछ । यसबाट फ्रान्सले बेरोजगारी दरमा देखिएको तीव्र वृद्धिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ। यसैगरी यातायात, ऊर्जा, निर्माण लगायतका क्षेत्रको विकासमा खर्च गर्ने बताइएको छ ।

हाल फ्रान्सको अर्थतन्त्र दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा गम्भीर अवस्थामा पुगेको छ । फ्रान्सका सामु रहेको आर्थिक तथा सामाजिक संकटलाई जित्नका लागि चालिएको महत्वपूर्ण रणनीतिक कदम रहेको प्रधानमन्त्री जाँ क्यास्टेले बताए ।

सरकारको यो निर्णयसँगै फ्रान्सको स्टक मार्केटमा २ प्रतिशतको वृद्धि देखिएको थियो । सन् २०२२ को अन्त्यसम्ममा सरकारले कोरोना भाइरसबाट जिडिपीमा भएको क्षतिलाई पूर्ति गर्ने लक्ष्य राखेको छ । यसका लागि आगामी वर्षसम्म १ लाख ६० हजार नयाँ रोजगारी सिर्जना गर्ने बताइएको छ। यसका साथै सरकारले मागमा वृद्धि गर्न र उपभोक्ताको खर्च गर्ने क्षमता अभिवृद्धिका लागि बिभिन्न किसिमका कर छुटहरुको प्रावधान पनि बजारमा माग र आपूर्ति बढाउने योजना बनाएको छ ।

हालसम्म फ्रान्समा कोरोना भाइरसको महामारीबाट ३० हजार ६ सयभन्दा धेरैको मृत्यु भइसकेको छ, जुन यूरोपमा बेलायत र इटालीपछि सबैभन्दा धेरै हो। फ्रान्समा सरकारले अर्थव्यवस्थालाई माथि ल्याउनका लागि यसभन्दा अघि पनि हजारौं अर्ब यूरो खर्चिसकेको छ।


प्रतिक्रिया दिनुहोस्