३ करोड बढी नोक्सानीमा घलेम्दी हाइड्रो : विद्युत बिक्री आम्दानी पनि घट्यो, इपिएस कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

३ करोड बढी नोक्सानीमा घलेम्दी हाइड्रो : विद्युत बिक्री आम्दानी पनि घट्यो, इपिएस कति ?



काठमाडौं । घलेम्दी हाइड्रो ३ करोड बढी नोक्सानीमा देखिएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनी ३ करोड २७ लाख ६ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने कम्पनीले १ करोड १५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय खर्च वृद्धि र विद्युत बिक्री आम्दानी घटेपछि नाफामा गिरावट आएको हो । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको विद्युती बिक्रीबाट हुने आम्दानी पनि गिरावट आएको छ ।

गत वर्षको पहिलो त्रैमासमा १ करोड ८० लाख ३० हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीको यो वर्षको सोही अवधिमा भने ८.४७ प्रतिशतले घटेको हो । योसंगै यस वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीको वित्तीय खर्च २ करोड ८७ लाख ७८ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीको खुद खर्च ४ करोड ९२ लाख ८ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ७ करोड ६६ लाख ५५ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ९५ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ भने ८६ रुपैयाँ ६ पैसा रहेको छ ।

कम्पनीद्वारा निर्माण गरिएको घलेम्दी खोला जलविद्युत आयोजना गत असार १० गते पहिरो खस्न गई पेनस्टक पाइपमा क्षति पुगेको थियो । सोही कारण नै साउन र भदौ दुई महिनामा पूर्णरुपमा आयोजना बन्द भएकाले पहिलो त्रैमासमा आम्दानी गरेको कम्पनीले जनाएको छ । हाल आयोजनाको मर्मत कार्य भई पूर्ण रुपमा भदौ २९ गतेदेखि निरन्तर विद्युत उत्पादन भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्