हिमालयन र इन्भेष्टमेण्टको मर्जरमा आज तीन बजे एमओयू हुँदै, दुई बैंकबाट ३/३ जना सञ्चालक बनाउने सहमति « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

हिमालयन र इन्भेष्टमेण्टको मर्जरमा आज तीन बजे एमओयू हुँदै, दुई बैंकबाट ३/३ जना सञ्चालक बनाउने सहमति



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र हिमालय बैंकबीच अन्ततः मर्जर प्रक्रिया अघि बढेको छ । लामो पूर्वतयारी पश्चात आज विहीवार दिउँसो ३ बजे काठमाडौंको ठमलेस्थीत अलोफ्ट होटेलमा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर हुने भएको हो ।

नेपाल इन्भेष्टमेण्टका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षेर गर्ने कार्यक्रम रहेको इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए ।

मर्जरपछि दुबै बैंकबाट ३÷३ जना सञ्चालक राख्ने र थप १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने सहमति भएको छ । दुई बैंक एक भएपछि सञ्चालक समिति अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक राणा रहने छन् । इन्भेष्टमेण्टका सीईओ ज्योतिप्रकाश पाण्डे भने मर्जरपछि डेपुटी सीईओको भूमिकामा रहने छन् ।

दुई बैंकले सम्पत्ती र दायित्व मूल्यांकन (डीडीए)को काम सकेर मात्रै समझदारी पत्रमा हस्ताक्षेर गर्ने योजना अघि सारेका थिए । डीडीए सकेर मर्जरमा जाने औपचारिक समझदारी गर्न पाँच महिना समय गुजारेका दुई बैंकले सकेसम्म चाँडै एकीकृत कारोबार थाल्ने बताएका छन् । बैंक स्रोतका अनुसार ढिलोमा पनि आगामी असोजअघि नै एकीकृत कारोबार थाल्नेगरी समझदारी बनेको छ ।

विहीबार विहानै एमओयूमा हस्ताक्षेर हुने भने पनि साताको अन्तिम दिनको सेयर कारोबार प्रभावित हुने भन्दै ३ बजेपछिका लागि कार्यक्रम तय गरिएको बैंक स्रोतले बताएको छ । आइतवारबाट भने यी दुई बैंकको दोस्रो बजारमा सेयर कारोबार बन्द हुने छ ।

यद्यपि, दुई बैंकको मर्जर हुँदा नेपाल इन्भेष्टमेण्टका लगानीकर्तालाई फाइदा हुने देखिएको छ । डीडीएका इन्भेष्टमेण्ट बैंकको सम्पत्ती हिमालयनको तुलनामा कम देखिएको सम्बद्ध स्रोतको दाबी छ । इन्भेष्टमेण्टको पूँजी बढी भएका कारण प्रतिसेयर सम्पत्ती कमी देखिएको हो । प्रतिकित्ता सम्पत्तीको मूल्यांकन कति आएको छ भन्ने प्रस्ट नपारिएको भए पनि करीब ५ प्रतिशतको अन्तर देखिएको स्रोतको दाबी छ । यद्यपी, दुबै बैंक समान हैसियत (सेयर स्वाप १ः१ को अनुपात)मा मर्जरमा जाने सहमति जुटेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्