पुसमै एजीएम, २१ प्रतिशत लाभांश: जीवन बीमामा बदलिँदो कार्यसंस्कृति
नेपालको जीवन बीमा उद्योग अहिले संक्रमणकालीन मोडमा उभिएको छ। एकातिर ब्याजदरको उतार–चढाव, सीमित लगानी विकल्प र समग्र अर्थतन्त्रको सुस्तीले उद्योगको प्रतिफलमाथि दबाब सिर्जना गरिरहेको छ भने अर्कोतिर नियामकीय सुधार, डिजिटल रूपान्तरण र संस्थागत सुशासनतर्फको दबाब पनि उत्तिकै बढ्दो छ। यिनै जटिलताबीच जीवन बीमा क्षेत्रको नेतृत्व तहबाट आउने आवाज, दृष्टिकोण र स्वीकारोक्ति आफैंमा अर्थपूर्ण र मार्गदर्शक बन्ने गर्दछ।
यसै सन्दर्भमा अर्थपथ टिभीका लागि गरिएको यो विशेष कुराकानी नेपाल जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीसँग केन्द्रित छ। उद्योगको सबैभन्दा ठूलो र पुरानो जीवन बीमा कम्पनीको नेतृत्व गरिरहेका व्यक्तिका रूपमा उहाँका भनाइहरू केवल एउटा कम्पनीको अवस्थासम्म सीमित छैनन्, बरु समग्र जीवन बीमा उद्योगको यथार्थ, चुनौती र सम्भावनाको प्रतिनिधि स्वरूप हुन्।
उनीसँग गरिएको लामो भिडियो कुराकानीको संक्षिप्त अंश यहाँ प्रकाशित छ ।
नेपाल लाइफ इन्स्योरेन्सको हालको वित्तीय अवस्था, लाभांश घोषणा र बजारमा यसको समग्र अवस्थालाई कसरी हेर्नुहुन्छ?
वित्तीय अवस्थाको कुरा गर्दा, हामीले आर्थिक वर्ष २०८१/८२ को भ्यालुएसन सम्पन्न गरी लाभांश घोषणा गरिसकेका छौँ र एजीएमको मिति पनि तय भइसकेको छ। पुस १९ गते एजीएम राखिएको छ। लाभांशतर्फ ५ प्रतिशत बोनस सेयर र करसहित १६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेका छौँ। ९ अर्ब २ करोड रुपैयाँको पुँजीमा २१ प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्नु भनेको कम्पनीको वित्तीय सबलताको स्पष्ट संकेत हो।
यससँगै, हाम्रो मुनाफाको करिब ९० प्रतिशत लाभ प्रत्यक्ष रूपमा पोलिसीधारकलाई जाने व्यवस्था छ। गत आर्थिक वर्षमा पनि हामीले सबै प्रोडक्ट लाइनमा बोनस दर निरन्तरता दिएका छौँ। यसले नेपाल लाइफ वित्तीय रूपमा सक्षम, स्थिर र उत्तरदायी कम्पनी भएको प्रमाणित गर्छ।
जीवन बिमा कम्पनीहरूमा एजीएम र भ्यालुएसन ढिलो हुने प्रवृत्तिबीच यसपालि नेपाल लाइफले पुसमै एजीएम कसरी सम्भव बनायो?
यो हाम्रो २५ वर्षको इतिहासमा पहिलो पटक पुसभित्रै एजीएम सम्पन्न हुन लागेको हो। यसको मुख्य कारण स्पष्ट योजना, समयमै कार्यान्वयन र सबै सरोकारवालाबीचको उत्कृष्ट समन्वय हो। एक्टुअरी, आन्तरिक टिम र नियामक निकाय सबैले आ–आफ्नो जिम्मेवारी समयमै पूरा गरे। बिमा प्राधिकरणको सहजीकरण यसमा अत्यन्त निर्णायक रह्यो।
विगतमा एजीएम ढिलो हुँदा जरिवाना तिर्नुपरेको अवस्था पनि थियो। यसपालि नेपाल लाइफ कसरी जरिवानाबाट जोगियो?
गत वर्ष पनि हामी जरिवानाबाट जोगिएका थियौँ। यस वर्ष त झन् दशैँअगावै एजीएम घोषणा भइसकेको थियो। वित्तीय विवरण पुस मसान्तअघि नै बन्द भएकाले जरिवानाको कुनै प्रश्न नै उठ्दैन।
यस प्रक्रियामा नियामक संस्थाको भूमिका कत्तिको महत्त्वपूर्ण रह्यो?
अत्यन्तै महत्त्वपूर्ण रह्यो। हामीले समयमै सम्पूर्ण कागजात बुझाएपछि बिमा प्राधिकरणका अध्यक्षदेखि कार्यस्तरसम्म सबैले ‘विदिन टाइमलाइन’ काम गर्न सहयोग गर्नुभयो। यो सहकार्यबिना यस्तो उपलब्धि सम्भव हुने थिएन।
यसभित्र के छ ?
- · २१.०५% लाभांश घोषणा: ९ अर्बभन्दा बढी पुँजीमा ५% बोनस सेयर र करसहित १६.०५% नगद गरी कुल २१.०५% लाभांश, जीवन बिमा क्षेत्रमै उल्लेखनीय प्रतिफल।
- · २५ वर्षको इतिहासमा पहिलो पटक पुसमै एजीएम: स्पष्ट योजना, टिमवर्क र नियामक सहकार्यका कारण एजीएम समयमै सम्पन्न।
- · नियामक–कम्पनी सहकार्य: बीमा प्राधिकरणको ‘विदिन टाइमलाइन’ सहजीकरणबिना यस्तो सुधार सम्भव थिएन ।
- · लगानी संरचनाको यथार्थ: बैंक एफडीमा निर्भरता बाध्यता भएको स्वीकार गर्दै हाइड्रो, शिक्षा, आतिथ्य र म्युचुअल फन्डतर्फ विविधीकरण सुरु।
- · न्यून ब्याजदरले प्रतिफलमा दबाब: प्रिमियम बढे पनि नाफा संकुचनको जोखिमबारे स्पष्ट चेतावनी।
- · सरेन्डर अर्थतन्त्रसँग जोडिएको मुद्दा: पोस्ट–कोभिड आर्थिक सुस्तीका कारण उद्योगभर दबाब, तर नेपाल लाइफको सरेन्डर दर घट्दो दाबी।
- · सिंगल प्रिमियम ‘रिस्क’ होइन: कडा अन्डरराइटिङ भए सिंगल प्रिमियम सुरक्षित र विन–विन मोडल हुन सक्ने धारणा।
के यसले नियामक संस्थामा सुधार आएको संकेत गर्छ?
सुधार मात्र होइन, सही स्पिरिटमा काम गर्ने संस्कृतिको विकास भएको हो। नियामक र कम्पनी एउटै दिशामा सँगसँगै अघि बढ्दा परिणाम कति सकारात्मक हुन सक्छ भन्ने यसको उदाहरण हो।
जीवन बिमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई नेपाल लाइफले कसरी हेर्छ?
प्रतिस्पर्धा खुला बजार अर्थतन्त्रको अनिवार्य अङ्ग हो। हामी प्रतिस्पर्धालाई सधैँ स्वागत गर्छौँ। तर प्रतिस्पर्धा व्यावसायिक, नैतिक र दीर्घकालीन हुनुपर्छ भन्नेमा हाम्रो स्पष्ट धारणा छ। अल्पकालीन फाइदाका लागि बजारलाई विकृत बनाउने गतिविधि कसैका लागि पनि हितकर हुँदैन।
बिमा कम्पनीहरूको लगानी संरचना र प्रतिफल घट्दो अवस्थामा छ भन्ने गुनासो सुनिन्छ। नेपाल लाइफको अवस्था कस्तो छ?
जीवन बिमा कम्पनीहरूको लगानी संरचना अझै पनि बैंक एफडीमा धेरै निर्भर छ, जुन हाम्रो बाध्यता पनि हो। लगानीका वैकल्पिक इन्स्ट्रुमेन्ट सीमित हुँदा प्रतिफल संकुचनको जोखिम देखिएको छ। यद्यपि हामी हाइड्रोपावर, शिक्षा, आतिथ्य, म्युचुअल फन्ड लगायतका क्षेत्रमा क्रमशः लगानी विविधीकरण गर्दै गएका छौँ।
पछिल्ला वर्षहरूमा सरेन्डर र ल्याप्स बढेको चर्चा छ। यसको कारण के हो?
यो मुख्यतः समग्र अर्थतन्त्रसँग जोडिएको विषय हो। पोस्ट–कोभिड आर्थिक सुस्ती, आम्दानीमा आएको दबाब र उपभोग्य खर्च बढ्दा सरेन्डरको दबाब देखिएको हो। यद्यपि उद्योगस्तरमा सरेन्डर बढे पनि नेपाल लाइफको सरेन्डर दर भने तुलनात्मक रूपमा घट्दो क्रममा छ।
सिंगल प्रिमियम पोलिसीलाई जोखिमका रूपमा लिइन्छ। तपाईंको धारणा के छ?
सिंगल प्रिमियम आफैँमा जोखिम होइन। कडा अन्डरराइटिङ र उचित लगानी व्यवस्थापन भयो भने यो कम्पनी र ग्राहक दुवैका लागि विन–विन मोडल हुन सक्छ। तर हाम्रो कोर फोकस भने नियमित प्रिमियममा आधारित दीर्घकालीन पोलिसी नै हो।
डिजिटाइजेसनको कुरा गर्दा बिमा क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसकेको आलोचना हुन्छ। नेपाल लाइफ कहाँ छ?
पछिल्ला ३–४ वर्षमा हामीले क्लेम, नोटिफिकेसन, पेमेन्ट गेटवे लगायतका धेरै प्रक्रिया डिजिटल बनाइसकेका छौँ। अब हामी इभोल्युसनरी चरणबाट रेभोलुसनरी डिजिटलाइजेसनतर्फ जाँदैछौँ, जहाँ एआई, साइबर सेक्युरिटी र पूर्ण पेपरलेस सेवा हाम्रो प्राथमिकतामा छन्।
यो अन्तरवार्ता नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय सबलता, नियामक सहकार्य, लगानी चुनौती र भविष्यको रणनीतिलाई एकीकृत रूपमा प्रस्तुत गर्ने उद्देश्यले सम्पादन गरिएको हो।













