‘उत्पादन, रोजगारी र आत्मनिर्भरता बिना बैंकिङ स्थिरता सम्भव छैन’ - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

‘उत्पादन, रोजगारी र आत्मनिर्भरता बिना बैंकिङ स्थिरता सम्भव छैन’



राष्ट्रिय वाणिज्य बैंक आजबाट साठी वर्ष पार गरेर एकसट्ठीऔँ वर्षमा प्रवेश गर्दै छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले ६ दशक पार गर्दै गर्दा नेपालका बैंक तथा वित्तीय संस्थाहरू एक संवेदनशील मोडमा उभिएका छन्।

लामो समयदेखि बैंकिङ प्रणालीमा प्रशस्त तरलता देखिएको छ, र त्यो अनवरत छ । ब्याजदर घट्दो क्रममा छ, तर लगानीको गति अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

यही सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकिङ क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे स्पष्ट धारणा राखेका छन्। उनले पनि अहिलेको बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रुपमा अत्यधिक तरलतालाई नै औंल्याएका छन् ।

अहिलेको बैंकिङ क्षेत्र तरलताबाट उत्पादनतर्फ मोडिनुपर्ने निर्णायक घडीमा रहेको सन्देश उनले दिन खोजेका छन्। स्थिरता, सही प्राथमिकता र संरचनागत सुधारमार्फत मात्र यो तरलता राष्ट्रिय समृद्धिको आधार बन्न सक्छ भन्ने उनको धारणा छ ।

२०८१ जेठदेखि राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालिरहेका उनै खनालसँग अर्थपथले गरेको कुराकानीको सार-संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

अहिले राष्ट्रिय वाणिज्य बैंक एकसट्ठीऔँ वर्षमा प्रवेश गर्दैछ। यस्तो अवस्थामा बैंकिङ क्षेत्रमा देखिएका मुख्य चुनौतीहरू के हुन् ?

अहिले बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको अत्यधिक तरलताको अवस्था हो। ब्याजदर घट्दो क्रममा रहे पनि बजारमा तरलता धेरै भएकाले व्यवसायीहरूमा कर्जा लिने आत्मविश्वास र मनोबल बढ्न सकेको छैन। त्यसकै कारण लगानीका पर्याप्त अवसरहरू सिर्जना हुन सकेका छैनन्।

देशमा नयाँ पुस्ताको नयाँ सोच देखा परे पनि त्यसको स्थायित्व अझै स्थापित भइसकेको छैन। अब निर्वाचनपछि स्थिर सरकार बनेपछि देश स्थायित्वतर्फ अघि बढ्ने र हालको तरलताको सही सदुपयोग हुने अपेक्षा गर्न सकिन्छ। हाल निर्वाचनको वातावरणका कारण उद्योगी तथा व्यवसायीहरू नियमित काममै सीमित छन् र नयाँ माग उल्लेखनीय रूपमा बढेको छैन।

अब चुनाव भएर स्थिर सरकार बन्ने अवस्था तयार भयो भने उद्योगी व्यवसायीहरुमा पनि सकारात्मक माहोल र बलियो आत्मविस्वासको लहर देखिन सक्छ । अहिले त व्यवसायीहरु पनि नियमित काममा मात्रै ध्यान केन्द्रित गरेका छन् ।

यस्तो अवस्थामा कर्जाको माग बढाउन बैंकिङ क्षेत्रले के गर्न सक्छ ?

अहिले हाम्रो कर्जाको आकार करिब कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को बराबर पुगेको अवस्था छ। अब यो कर्जाले प्रतिफल दिनु अनिवार्य भएको छ। हाम्रो मुख्य चुनौती भनेको लगानी उत्पादनमुखी क्षेत्रमा कम र व्यापारमुखी क्षेत्रमा बढी हुनु हो।

यदि लगानी उत्पादनमुखी क्षेत्रमा केन्द्रित भयो भने मात्र त्यसले नियमित आम्दानी सिर्जना गर्छ र रोजगारी पनि बढाउँछ।

हाल केन्द्रीय बैंकले व्यक्तिगत कर्जाको सीमा बढाएको र सेयर कर्जामा रहेको सीमा हटाएको कारण केही प्रभाव देखिए पनि यसले मात्र उत्पादनसँग प्रत्यक्ष सम्बन्ध जोड्दैन। दीर्घकालीन सकारात्मक प्रभावका लागि हामीले साना तथा मझौला उद्योग र किसानलाई केन्द्रमा राख्नुपर्छ।

समथै, अब हामीले केही नयाँ सम्भावनायुक्त क्षेत्रहरू पहिचान गर्न आवश्यक छ। पहिलो, खानी क्षेत्र हो। देशभित्र रहेका खानीहरूको उत्खनन र सदुपयोग गर्न सके उद्योग व्यवसाय फस्टाउन सक्छ।

दोस्रो, वैज्ञानिक वन व्यवस्थापन हो। हाम्रो देशमा प्रशस्त वन क्षेत्र रहेको छ, जसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सके ठूलो आम्दानी हासिल गर्न सकिन्छ।

तेस्रो, जलविद्युत क्षेत्र हो। पन्ध्र वर्षअघि जलविद्युतमा लगानी होला भनेर धेरैले कल्पना गरेका थिएनन्, तर आज कुल लगानीको उल्लेखनीय हिस्सा यही क्षेत्रमा पुगेको छ।

चौथो, कृषि आत्मनिर्भरता हो। चामल, धान र दलहनजस्ता वस्तुहरू आयात गर्न नपर्ने अवस्था सिर्जना गर्न लगानी बढाउनुपर्छ। पहिले चितवन र दाङजस्ता क्षेत्रमा तेलहनको ठूलो उत्पादन हुने गर्थ्यो, ती क्षेत्रहरूलाई पुनर्जीवित गर्न जरुरी छ।

हालको तरलता व्यवस्थापन गर्न संभावनाको ढोका खोल्ने अर्को क्षेत्र ठूला पूर्वाधार आयोजनाहरू हुन् । अब वित्तीय स्रोतलाई दिगो प्रतिफलयुक्त ठूला पूर्वाधारमा लगानी गर्नुपर्ने बेला आएको छ। बुढीगण्डकी र माथिल्लो अरुणजस्ता आयोजनाहरूमा खर्च गर्न सके देशको आर्थिक स्वरूप परिवर्तन हुन सक्छ।

हामीसँग विदेशी मुद्रा सञ्चिति र आन्तरिक तरलता दुवै उपलब्ध भएकाले यस्ता आयोजनाले दीर्घकालीन फाइदा दिन सक्छन्। पर्यटन क्षेत्रमा पनि केवल हिमाल र संस्कृति देखाएर मात्र पुग्दैन। पूर्वदेखि पश्चिमसम्म रहेका धार्मिक र सांस्कृतिक क्षेत्रहरूलाई व्यवस्थित गरेर विशेषगरी छिमेकी मुलुक भारतमा प्रवर्द्धन गर्नुपर्छ। यसका लागि सुरक्षित र छिटो सडक पूर्वाधारको विकास अनिवार्य छ।

हाइलाइट्स

  • बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती अत्यधिक तरलता भए पनि लगानीको आत्मविश्वास नबढ्नु जोखिमपूर्ण
  • कर्जाको आकार कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा पुगेकाले अब प्रतिफलमुखी लगानी अनिवार्य
  • व्यक्तिगत र सेयर कर्जामा गरिएको सहजताले मात्र अर्थतन्त्रलाई उत्पादनसँग जोड्न सक्दैन
  • साना तथा मझौला उद्योग र किसान केन्द्रमा राखेर दीर्घकालीन लगानी रणनीति आवश्यक
  • खानी, वैज्ञानिक वन व्यवस्थापन, जलविद्युत र कृषि आत्मनिर्भरता सम्भावनायुक्त क्षेत्र
  • पर्यटन विकासका लागि धार्मिक र सांस्कृतिक क्षेत्रको व्यवस्थित प्रवर्द्धन अपरिहार्य
  • बिना धितो कर्जा नदिने नीतिका कारण बैंकको कर्जा समग्रमा सुरक्षित

वर्तमान अवस्थामा राष्ट्रिय वाणिज्य बैंकको लगानीका प्राथमिक क्षेत्रहरू के के हुन् ?

राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला ६ महिनामा करिब १९ अर्ब रुपैयाँ लगानी वृद्धि गरेको छ। हाम्रो आधार ब्याजदर कम भएकाले ग्राहकहरूका लागि कर्जा सस्तो पर्न गएको छ र हामी कर्जा व्यवस्थापनका वैकल्पिक उपायहरू पनि प्रयोग गरिरहेका छौँ।

साना किसान र ग्रामीण क्षेत्रमा हामीले करिब ७.७५ प्रतिशतको सस्तो ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छौँ। यद्यपि, विश्वव्यापी भू–राजनीतिक अवस्था र देशभित्रको अन्योलका कारण लगानीकर्ताहरूमा अझै पूर्ण उत्साह आउन सकेको छैन।

हामीले विशेष रूपमा किसान कर्जा, वैदेशिक रोजगार कर्जा, साना तथा मझौला उद्यम कर्जा, ऊर्जा, कृषि र विपन्न वर्गमा केन्द्रीय बैंकका सबै मापदण्ड पूरा गरेर लगानी गर्दै आएका छौँ।

साना किसान र ग्रामीण क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह भइरहेको छ। तर विश्वव्यापी भू–राजनीतिक अवस्था र देशभित्रको अन्योलका कारण लगानीकर्ताहरूमा अझै पूर्ण उत्साह आउन सकेको छैन। बैंकले किसान कर्जा, वैदेशिक रोजगार कर्जा, साना तथा मझौला उद्यम, ऊर्जा, कृषि र विपन्न वर्गमा केन्द्रीय बैंकका मापदण्डअनुसार लगानी गर्दै आएको छ।

सरकारी बैंक भएकाले प्राथमिक क्षेत्रमा काम नगरेको र सेवा प्रक्रिया झन्झटिलो भएको गुनासो पनि सुनिन्छ। यसबारे तपाईंको धारणा के छ ?

हामी यस्ता गुनासाहरूप्रति गम्भीर छौँ। कागजात प्रक्रिया जटिल भएको भन्ने धारणा हटाउन हामीले सेवा प्रक्रियालाई क्रमश: सरल बनाउँदै लगेका छौँ। अर्को महत्वपूर्ण विषय भनेको कर्मचारीहरूको सोच र कार्यशैली हो। निजामती मानसिकताबाट बाहिर निकालेर व्यावसायिक कार्यसंस्कृतिमा रूपान्तरण गर्न हामी निरन्तर प्रयासरत छौँ।

हाम्रो समाजमा केवल जागिर खाने संस्कार हाबी छ। यसलाई परिवर्तन गरी मानिसहरूलाई उद्यमशील बन्न प्रेरित गर्नु आजको आवश्यकता हो।

चालू आर्थिक वर्षको आधा अवधि सकिइसकेको बेला विद्यमान आर्थिक अवस्थामा बैंकले प्रवाह गरेको कर्जा कत्तिको सुरक्षित छ ?

बैंक तथा वित्तीय संस्थालाई कर्जाको सावाँ र ब्याज नियमित रुपमा तिर्नुपर्ने कुरामा भदौको जेनजी आन्दोलनले केही समस्याहरु थपेको छ । धेरै ठाउँमा होटेल व्यवसायका बूकिङहरु बन्द भए । देश नै केही समय अन्योलतामा रह्यो । त्यसले गर्दा अर्थतन्त्रको चक्रलाई नै अप्ठेरो पारिदियो । आन्दोलन पछि पनि ‘के होला, कसो होला’ भन्ने अन्योलले पनि वित्तीय बजारलाई प्रभावित पार्यो ।

त्यसैले हामीले ६ महिनाका लागि कर्जाको पुनर्तालिकीकरण पनि गर्यौँ । आवश्यकताअनुसार कर्जा पुनर्संरचना पनि गरेका छौँ। हामी अहिले पनि संक्रमण कालमै छौँ । हामी पूर्वाधार निर्माणको पनि सुरुआति दौरमै छौँ । त्यसैले हामीलाई लाग्छ की, होटेल होस् वा जलविद्युत्, त्यसबाट छोटो समयमै ऋण चुक्ता भइसक्ला । तर त्यस्तो हुँदैन । होटल, जलविद्युत र अरु खालका पूर्वाधार परियोजनाहरू दीर्घकालीन हुने भएकाले तिनको भुक्तानी अवधि पनि लामो हुन्छ ।

एउटा होटल बन्नु भनेको पचासौँ वर्ष चलाउने पूर्वाधार तयार पार्नु हो । एउटा जलविद्युत् अयोजना कम्तिमा पनि २५–३० वर्ष चल्छ । त्यस कारण यस्ता पूर्वाधार आयोजनाहरलाई लामो समयसम्म कर्जाको अवधि विस्तार गरेर पनि हामीले पूर्वाधारमा लगानी बढाउन सक्छौँ।

बैंकहरुको खराब कर्ज बढ्दै गएको छ । यो जोखिमपूर्ण अवस्थामा पुगेको हो की होइन ?

अहिले ६ महिनाको हिसाब हेर्ने हो भने हाम्रो समग्र खराब कर्जा (एनपीएल)को अवस्था नियन्त्रणमै छ। हामीले विदेशी परामर्शदातामार्फत कर्जा पोर्टफोलियोको समीक्षा पनि गराएका छौँ।

बिना धितो कर्जा नदिने नीति भएकाले हाम्रो कर्जा सुरक्षित छ। जग्गाको मूल्य घट्दा केही जोखिम देखिए पनि अत्यधिक तरलताका कारण त्यसको व्यवस्थापन भइरहेको छ र अहिलेसम्म कुनै गम्भीर समस्या देखा परेको छैन।

जग्गाको मूल्य ओरालो लाग्दा त बैंकहरु थप जोखिमपूर्ण अवस्थामा पुग्ने भए नि, होइन ?

देख्दाखेरी त्यसरी देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा त्यो एउटा समस्या चाहीँ आउँछ की, भन्ने चाहीँ छ । त्यो स्वाभाविक पनि हो । तर बैंक तथा वित्तीय संस्थाहरुले नै जग्गाको मूल्य अहिलेको स्तरमा पुर्याएको हो । त्यस कारणले यसको व्यवस्थापन हुँदै छ । अधिक तरलता नभएको भए यसमा केही थप समस्याहरु देखिने हुनसक्थ्यो । अहिले तरलता बढी भएकाले यो समस्या पनि विस्तारै व्यवस्थापन गर्न सजिलो परेको छ ।


प्रतिक्रिया दिनुहोस्