चिनियाँ भीआईपीहरू चढ्ने लक्जरी ब्रान्ड ‘हङछी’ नेपाल आउँदै, नाइमा मोबिलिटी एक्स्पोमा हुनेछ ऐतिहासिक डेब्यु!
काठमाडौं । नेपाली सडकमा अब यस्तो ब्रान्ड पनि गुड्ने तयारीमा छ, जसले दशकौँसम्म चीनका राष्ट्रपति, शीर्ष सरकारी अधिकारी र विदेशी राष्ट्रप्रमुखहरूको सवारीका रूपमा आफ्नो पहिचान बनायो। चीनको प्रतिष्ठित तथा फ्ल्यागशिप लक्जरी अटोमोबाइल ब्रान्ड हङछी अब पहिलो पटक नेपाली बजारमा प्रवेश गर्ने भएको छ।
नेपालमा विद्युतीय सवारीसाधनको बजार तीव्र गतिमा विस्तार भइरहेका बेला हङछीको आगमनलाई प्रिमियम ईभी सेग्मेन्टको अर्को महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। चीनमा ‘रेड फ्ल्याग’ अर्थात् ‘रातो झण्डा’ को अर्थ दिने हङछीलाई लामो समयदेखि चीनको राष्ट्रिय गौरवसँग जोडिने ब्रान्डका रूपमा चिनिन्छ। यही कारण यसलाई धेरैले ‘चीनको रोल्स-रोयस’ भन्ने उपनाम पनि दिएका छन्।
नेपालका लागि हङछीको आधिकारिक वितरक एडभान्स्ड अटोमोबाइल प्रालि हुनेछ। कम्पनीले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत ब्रान्डलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। वितरक कम्पनीले पहिलो खेपका गाडी आयात प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
सन् १९५८ मा स्थापना भएको हङछी चीनकै सबैभन्दा पुरानो लक्जरी कार ब्रान्ड हो। यसको स्वामित्व चीनको सरकारी अटोमोबाइल कम्पनी एफएडब्लू ग्रुप अन्तर्गत छ। प्रारम्भिक चरणमा हङछीका गाडी सर्वसाधारणका लागि बिक्री गरिँदैनथे। ती गाडी विशेष रूपमा चीनका राष्ट्रप्रमुख, कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू तथा विदेशी विशिष्ट पाहुनाको सवारीका लागि निर्माण गरिन्थे। त्यसैले हङछीलाई चीनमा केवल कार ब्रान्ड होइन, राष्ट्रिय प्रतिष्ठा र राज्यको पहिचानसँग जोडिएको प्रतीकका रूपमा पनि हेरिन्छ।
विगत केही वर्षयता भने हङछीले आफूलाई आधुनिक विद्युतीय सवारी निर्माता कम्पनीका रूपमा रूपान्तरण गरेको छ। परम्परागत पेट्रोल र हाइब्रिड मोडलसँगै कम्पनीले पूर्ण विद्युतीय सवारी उत्पादनमा आक्रामक विस्तार गरिरहेको छ। अहिले हङछीका उत्पादन युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियासहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेका छन्।
नेपालमा पहिलो चरणमा ई-एचएस ४ र कम्पनीको फ्ल्यागशिप लक्जरी विद्युतीय एसयूभी ई-एचएस ९ मोडल सार्वजनिक गरिने तयारी छ। यी दुवै मोडल प्रिमियम ईभी ग्राहकलाई लक्षित गरी ल्याउन लागिएको कम्पनीको भनाइ छ।
हङछीको फ्ल्यागशिप मोडल ई-एचएस ९ पूर्ण आकारको लक्जरी विद्युतीय एसयूभी हो। विश्व बजारमा यो मोडल ८४ किलोवाट-घण्टादेखि १२० किलोवाट-घण्टासम्मका ब्याट्री विकल्पमा उपलब्ध छ, जसले एकपटकको पूर्ण चार्जमा डब्लुएलटिपी मापदण्डअनुसार ५१५ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ। डुअल मोटर अल-ह्विल ड्राइभ प्रणाली, एयर सस्पेन्सन, नापा लेदर सिट, मसाज तथा भेन्टिलेटेड सिट, बहु डिजिटल डिस्प्ले, प्रिमियम अडियो प्रणाली र अत्याधुनिक चालक सहायता प्रविधिले यसलाई लक्जरी ईभी वर्गको प्रतिस्पर्धी मोडल बनाएको छ।
नेपालमा ई-एचएस ४ र ई-एचएस ९ मोडल को मूल्य करिब ६० लाखदेखि ६५ लाख रुपैयाँको हाराहारीमा पर्ने अनुमान छ। यद्यपि कम्पनीले आधिकारिक मूल्य भने सार्वजनिक गरिसकेको छैन।
सन् २०२५ मा हङछीले विश्वभर ४ लाख ६० हजारभन्दा बढी सवारी बिक्री गरेको थियो। तीमध्ये करिब डेढ लाख नयाँ ऊर्जा सवारी (एनईभी) रहेका थिए। विद्युतीय सवारी उत्पादनमा कम्पनीले तीव्र लगानी बढाइरहेको छ भने सन् २०२८ सम्म युरोपका २५ देशमा १५ नयाँ विद्युतीय तथा हाइब्रिड मोडल सार्वजनिक गर्ने रणनीति अघि बढाइसकेको छ।
नेपालमा पछिल्ला केही वर्षयता चिनियाँ विद्युतीय सवारीको प्रवेश तीव्र बन्दै गएको छ। सुरुआती चरणमा किफायती मोडलमा केन्द्रित रहेको बजार अहिले विस्तार हुँदै प्रिमियम तथा लक्जरी सेग्मेन्टसम्म पुगेको छ। यस्तो अवस्थामा हङछीको आगमनले नेपाली उपभोक्तालाई विश्वस्तरीय लक्जरी विद्युतीय सवारीको अर्को विकल्प दिने अपेक्षा गरिएको छ।
विशेषगरी सरकारी तथा कर्पोरेट क्षेत्रका उच्च व्यवस्थापक, व्यवसायी र प्रिमियम ग्राहकलाई लक्षित गर्दै हङछीले नेपाली बजारमा आफ्नो अलग पहिचान बनाउने तयारी गरेको छ।













