सार्वजनिक यातायातको भाडा वृद्धि प्रस्तावमा सरकारको वेवास्ता, पेट्रोलियम पदार्थमा तीन थरी मूल्य कामय गर्न सुझाव
मानमति पन्त
काठमाडौं । बढेको पेट्रोलियम पदार्थको मूल्यको बिषयमा सरकारले केहि सुनुवाई नगरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । बढेको मूल्य फागुन २५ गतेसम्म फिर्ता गर्नु पर्ने वा ३५ प्रतिशत वैज्ञानिक भाडा समायोजन वा अन्य विकल्प अनुसार सरकारले केही सुनुवाई नगरेको महासंघको आरोप छ ।
पेट्रोलियम पदार्थको भारी मुल्य वृद्धिको विषयमा आज राति १२ बजे अल्टीमेटम सकिने महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले भने, ‘अब कसरी जाने भन्ने कुरामा अझै पनि सरकारलाई समय छ ।’ त्यस्तै सबै निकायलाई बोलाएर छलफल गरेर अनकन्ट्रोल रुपमा भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धिलाई न्युनिकरण गरेर जानको लागि सुझाव पनि भएको उनले बताए । जुन अहिलेको संकटलाई न्युनिकरण गर्न पनि सकिने सिटौलाले जानकारी दिए ।
अहिले आएको अन्तराष्ट्रिय दवाब, युद्ध र डलरको दवावले पेट्रोलियम पदार्थ मुल्य बढेको पनि उनले स्वीकारेका छन् । तर सिटौला भन्छन्, ‘यसका लागि सुझाव पनि छन्, जुन कालो प्लेटको गाडीलाई एउटा मुल्य, रातो प्लेटको गाडी विलासिताको हो त्यसलाई अर्को मुल्य, सरकारी गाडीलाई अर्को मुल्य गरी, सार्वजनिक गाडी पेट्रोलियम पदार्थका मुल्य तोकियो भने मुल्य सहज हुने छ ।’
त्यस्तै खुल्ला बोडर (कालो बजारीबाट) आएको पेट्रोलियम पदार्थलाई नियन्त्रण गर्नुपर्यो । पेट्रोलियम पदार्थको चुहावटलाई पनि रोक्नु पर्छ । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।
‘गाडी भाडा बढ्दैन, पेट्रोलको भाउ भने बढेको बढ्यै गर्छ,’ महासचिव सिटौलाले भने‚ ‘हामी अब धान्न सक्दैनौँ, सहन सक्दैनौँ। सरकारले हाम्रो बिषयमा सुनुवाई पनि गरेको देखिएन अब २७ गते सम्म मूल्यबृद्धि फिर्ता गर्ने वा भाडा समायोजन नगरे ठोस निर्णय गर्ने उनले बताए ।
महासंघले यातायात विभाग, आयल निगम, अर्थमन्त्रालयलाई पटक पटक पत्र दिदाँ पनि त्यसको कदर नगरेको सिटौलाले आरोप लगाएका छन् । उनले भने पेट्रोलियम पदार्थको विकल्प खोज्नु होस्, नभए आयल निगमले देश सक्ने भयो भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आयल निगमको अर्ब र खर्ब घाटा कहिल्यै सकिने भएन । पानीले गाडी चल्ने प्रविधि छैन । सिटौलाले भने, सरकारले वैज्ञानिक भाडा समायोजन गरिदिनु पर्छ । त्यसपछि यातायात व्यवसायी पनि आफ्नो गरि खान्छन् । नेपाल आयल निगमले १९ मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ तोकिएको छ।
यस्तै‚ हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। एलपिजी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँ छ। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई एक महिनामा नै अर्बौं रुपैयाँ घाटा हुने भन्दै निगमले मूल्य बढाएको हो ।
















