भारतीय निर्यातमा अमेरिकाले लगायो ५०% शुल्क, लाखौं रोजगारी कटौती हुने
काठमाडौँ। भारतबाट अमेरिकामा हुने ज्यादातर वस्तुको निर्यातमा अमेरिकाले ५० प्रतिशत आयात शुल्क लगाएको छ।
उक्त व्यवस्था अमेरिकी समय अनुसार आज राति १२ बजे पश्चात् लागू हुनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग तेल खरिद गरिरहेको भन्ने निहुँ पारेर भारतमाथि ५० प्रतिशत आयात शुल्क लगाएका हुन्।
भन्सार महसुलका रूपमा लिने यस्तो शुल्क बढाइएपछि भारतमा लाखौंको सङ्ख्यामा मानिसहरू बेरोजगार हुने भएका छन्।
खासगरी उत्तर प्रदेशका दशौँ हजार छाला तथा जुत्ता उद्योगहरू, गुजरातका गार्मेन्ट उद्योगहरू र हिराको कटिङ तथा पोलिसिङ गर्ने उद्योगहरू ज्यादा प्रभावित हुने देखिएको छ।
विश्वमा बिक्री हुने ८० प्रतिशत भन्दा ज्यादा हिराको कटिङ र पोलिसिङको काम भारतमा भइरहेको छ। तर यो हिराको सबैभन्दा ठूलो बजार अमेरिका हो।
अमेरिकीहरू उपहारमा हिराको खुबै प्रयोग गर्छन्। तर पछिल्ला वर्षमा हिराको विश्वव्यापी माग घटिरहेको थियो। त्यसमाथि अमेरिकी शुल्कले गुजरातका झन्डै एक लाख हाराहारी साना तथा ठूला हिरा कारखानाहरू अब बन्द हुने स्थितिमा पुगेका छन्।
तर कतिपय अर्थशास्त्रीहरूका अनुसार हिरा भन्दा पनि गार्मेन्ट र छाला उद्योगहरू ज्यादा जोखिमपूर्ण हालतमा छन्। हिरामा ठूला व्यवसायीहरू संलग्न भएपनि गार्मेन्ट तथा छाला उद्योगहरूमा सानो एवं मझौला उद्यमीहरूको बाहुल्यता छ।
यसै पनि ज्यादै कम मार्जिनमा सामान बेचिरहेका यस्ता उद्योगहरू अमेरिकी महसुलका कारण उद्योग बन्द गर्नुपर्ने हालतमा पुग्न सक्ने जोखिम बढेको छ।
अमेरिकाले जेनेरिक औषधि सहित केही वस्तुमा आयात शुल्क नलाग्ने भनेको छ। अमेरिकाका लागि अत्यन्त आवश्यक पर्ने र भारतको वैकल्पिक स्रोत नभएका वस्तुहरूमा उसले आयात शुल्क लगाएको छैन।
तर भारतको विकल्पमा पाकिस्तान, बाङ्गलादेश, चीन, भियतनाम, मेक्सिकोजस्ता मुलुकबाट वैकल्पिक आयात हुनसक्ने वस्तुहरूमा अमेरिकाले भारी शुल्क लगाएको छ।
तर तिनै वस्तुहरू भारतीय अर्थव्यवस्थाका लागि भने अत्यन्तै महत्वपूर्ण छन्। यस्ता वस्तुको उत्पादनमा दशौँ लाख भारतीयको रोजीरोटी जोडिएको छ।
भारतीय श्रम बजारमा पर्ने यस्तो चपेटाले त्यहाँ कार्यरत कयौँ नेपालीहरूको पनि रोजगारी खोसिन सक्ने जोखिम छ। यी क्षेत्रमा कति नेपाली कार्यरत छन्, तीमध्ये कतिको रोजगारी जोखिममा छ भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन।
तर नेपालको छिमेकी राज्यहरू देखि सिङ्गो भारतीय अर्थव्यवस्थामा रोजगारी कटौती हुने जोखिमले त्यहाँ कार्यरत नेपालीहरूको भान्सालाई पनि असर गर्न सक्छ।
अमेरिकाले रुसी तेलको आयातलाई कारण देखाइरहे पनि उक्त अधिक आयात शुल्क लगाउनुको पछाडि भारत र अमेरिका बीच चलिरहेको व्यापार वार्ता मुख्य कारण ठानिन्छ।
अमेरिकाले उसको देशमा उत्पादित कृषि वस्तु र दुग्धजन्य पदार्थ भारतीय बजारमा शून्य भन्सारमा बेच्न पाउनुपर्ने शर्त राख्दै आएको छ।
यस्तो प्रस्ताव स्वीकार गर्ने हो भने लगभग ७० प्रतिशत भारतीयहरू निर्भर रहेको कृषि, पशुपालन र मत्स्य व्यवसाय ध्वस्त हुन सक्ने भारतीय अधिकारीहरूले बताउँदै आएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बारम्बार आफ्ना किसान, पशुपालक र मछुवारेहरूको हितमाथि कुनै सम्झौता नगर्ने बताउँदै आएका छन्।
भारतले यस प्रकारको सार्वजनिक टिप्पणी गरेपछि दुई दिन अघिका लागि तय भएको भारत-अमेरिका व्यापार वार्ता ट्रम्पले स्थगित गरिदिएका छन्।
अमेरिकासँग उल्लेख्य व्यापार नाफा आर्जन गरिरहेको भारतलाई ‘आफ्नो शर्तमा मन्जुर गराउन’ ट्रम्पले संसारमै सर्वाधिक भन्सार महसुल लगाएको भारतीय अर्थशास्त्रीहरू बताउँछन्।
तर कारण जेसुकै भएपनि तत्कालका लागि भारतीय अर्थव्यवस्थामा उक्त अमेरिकी महसुलले ठूलो दबाव सिर्जना गर्ने देखिएको छ।
अमेरिका शुल्कका कारण भारतबाट अमेरिकामा हुने निर्यातको ५५ देखि ६० प्रतिशत हिस्सा प्रभावित हुने अनुमान गरिएको छ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले कतिबेला कस्तो निर्णय गरिदिन्छन् भन्ने कुनै सुनिश्चितता छैन। उनले भारत विरुद्ध थप कडा कारबाही गर्ने धम्की पनि दिएका छन्।
अमेरिकी निर्यात बन्द भएपछि अरु मुलुकका आयातकर्ताले पनि भारतीय निर्यातकर्ताहरू समक्ष ज्यादा मोलमोलाई (बार्गेनिङ) गर्न सक्ने, र यसबाट भारतीय उत्पादकहरू थप प्रभावित हुने आशंका गरिएको छ।
त्यस्तो अवस्थामा भारतमा पढ्ने बेरोजगारीको सङ्ख्या अझ चुलिन सक्छ। यस प्रकारको खराब परिस्थितिसँग जुध्न भारत सरकारले विभिन्न विकल्पहरूको खोजी गरिरहेको बताइएको छ।
उत्पादक तथा निर्यातकर्ताहरूलाई सुविधा दिनेदेखि नयाँ बजार खोजेर आफ्नो सामान निर्यात गर्नेसम्मका विकल्पमा भारत सरकारले कति सफलता पाउन सक्छ भन्ने हेर्न बाँकी छ।
















