टी–२० विश्वकपः नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रको ऐतिहासिक रेकर्ड
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत भारतको मुम्बईमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल साविक विजेता इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । जितका लागि १८५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८१ रन मात्र जोड्न सक्यो ।
नेपालको संघर्षपूर्ण ब्याटिङ नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए, जहाँ भुर्तेलले २९ रन जोडे । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्याएका थिए ।
दीपेन्द्रले २९ बलमा ४४ रन बनाउने क्रममा टी–२० आई क्रिकेटमा आफ्नो २ हजार रन पनि पूरा गरे । कप्तान रोहितले ३९ रनको योगदान दिए पनि नेपालले अन्तिम ओभरमा आवश्यक १० रन बनाउन नसक्दा हार बेहोर्नुपर्यो ।
इंग्ल्यान्डको इनिङ्स र नेपाली बलिङ यसअघि टस जितेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ५५ रन र कप्तान ह्यारी ब्रूकले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। डेब्यु खेल खेलिरहेका शेर मल्लले आफ्नो करियरको पहिलो बलमै इंग्ल्यान्डका ओपनर फिल साल्टलाई आउट गर्दै सनसनी मच्चाएका थिए । त्यस्तै सन्दीप लामिछानेले पनि १ विकेट हात पारे ।
नेपालले हार बेहोरे पनि विश्वकपको पहिलो खेलमै बलियो टोली इंग्ल्यान्डलाई कडा चुनौती दिएर क्रिकेट प्रेमीहरूको मन जित्न सफल भएको छ ।
















