‘ईजी मनी’ को खेल कि बजारको सुरक्षा ? डबल आइजीन विवाद र प्रस्तावित निर्देशिका
काठमाडौं । धितोपत्र बजारमा पछिल्लो समय ‘डबल आइजीन’ को विषयलाई लिएर नियामक र व्यवसायीबीच तीव्र विवाद देखिएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ल्याउन खोजेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ ले संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै पहिचान दिने व्यवस्था गरेपछि बहस चुलिएको हो ।
सीडीएससीले नेपाल धितोपत्र बोर्ड (सेबन) मा स्वीकृतिका लागि पठाएको निर्देशिकाले मुख्यतया संस्थापक र सर्वसाधारण सेयरलाई फरक–फरक आइएसआइएन नम्बर दिने प्रस्ताव गरेको छ ।
संस्थापक सेयरको लकिङ अवधि सकिनेबित्तिकै ती स्वत: सर्वसाधारण सेयरमा परिणत हुने छैनन् । यसका लागि कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित हुनुपर्नेछ ।
सेयर रूपान्तरण गर्नुअघि सर्वसाधारण लगानीकर्तालाई जानकारी दिन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा दुई पटक सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
संस्थापक सेयरधनीले अब आफू संस्थापक नरहेको भनी स्व–घोषणा गर्दै नियामक निकायलाई अनिवार्य जानकारी दिनुपर्ने निर्देशीमा व्यवस्था गरिएको सिइओ पन्दाकले बताईन् ।
कम्पनीको नियमावली र सीडीएससीको डिजिटल प्रणालीमा रहेको तथ्यांक हुबहु मिल्नुपर्ने सुनिश्चितता गरिएको छ ।
सीईओ पन्दाक: सुटुक्क सेयर मिसाएर अर्बौँ कुम्ल्याउने दाउ
सीडीएससीकी कार्यकारी प्रमुख प्रविन पन्दाकले यो निर्देशिका कार्यान्वयनमा ल्याउन खोज्दा आफूमाथि ठुलो दबाब र प्रहार भइरहेको बताएकी छन् । सोमबार सीडीएससीले कार्यविधिमा के छ भन्ने विषयमा गरेका अन्तरक्रियामा यस्तो बताएकी हुन् ।
‘‘ईजी मनी’ खोज्नेहरू मलाई हटाउन अदालतसम्म पुगेका छन्’, पन्दाकले भनिन्, ‘संस्थापक सेयरलाई सर्वसाधारणलाई थाहै नदिई सुटुक्क मिसाउँदा केही समूहले छोटो समयमै अर्बौँ रुपैयाँ कुम्ल्याउने दाउ हेरेका छन् ।’
पन्दाकका अनुसार करिब ४१ करोडको संस्थापक सेयरलाई सुटुक्क सर्वसाधारणमा मिसाउँदा त्यसको मूल्य ५ अर्ब ४४ करोडसम्म पुग्ने देखिएको बताइन् । उनले थपिन्, ‘हामीले सेयर मिसाउन रोकेका होइनौँ, तर त्यो विधिपूर्वक र पारदर्शी हुनुपर्छ भन्ने मात्र हो ।’ उनले धितोपत्र बोर्डले व्यापारीहरूको स्वार्थमा लागेर ७ महिनादेखि निर्देशिका रोकेको आरोप समेत लगाइन् ।
एउटै आइएसआइएनका पक्षमा व्यवसायी
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल भने एउटै आइएसआइएनको पक्षमा उभिएका छन् । उनले ’डबल आइएसआइएन’ प्रणालीले बजारलाई विकृत र अविश्वसनीय बनाउने तर्क राखेका छन् ।
अन्तर्राष्ट्रिय अभ्यास अनुसार एउटै कम्पनीको सेयरको एउटै आइएसआइएन हुनपर्ने अग्रवालको भनाई थियो ।
एउटै सेयरमा दुई वटा मूल्य हुँदा बजारमा अनावश्यक चलखेल बढ्छ र तरलता घट्ने अग्रवाल बताउछन् । नयाँ उद्योगमा लगानी गर्नका लागि संस्थापकले सेयर बेच्न पाउनुपर्ने वातावरण हुनुपर्ने उनको भनाई छ ।
सीडीएससी साना लगानीकर्ताको सुरक्षाका लागि संस्थापक सेयरको पहिचान खुलाउन चाहन्छ भने व्यवसायीहरू यसलाई लगानीको वातावरणमा बाधक देख्छन् ।
विगतमा केही कम्पनीलाई एउटा र केहीलाई दुई वटा आइएसआइएन दिइएका कारण सिर्जित असमानता हटाउन यो निर्देशिका अपरिहार्य रहेको सीडीएससीको दाबी छ । अब यो विवादको अन्तिम फैसला नेपाल धितोपत्र बोर्डको हातमा छ । अहिले उक्त निर्देशीका बोर्डमा रहेको छ भने पारित भने भएको छैन ।













