२ दशकको गिरावटपछि पुनरुत्थानको बाटोमा नेपाली तयारी पोशाक क्षेत्र, १ खर्ब २१ अर्बको निर्यात सम्भावना
काठमाडौँ । कुनै समय नेपालको वैदेशिक व्यापारको मुख्य मेरुदण्ड रहेको तयारी पोसाक (गार्मेन्ट) उद्योग लामो समयको सुस्ततापछि पुन: तंग्रिन थालेको छ। दक्षिण एसियाली व्यापार, अर्थतन्त्र तथा वातावरण सम्बद्ध संस्था (सावती) का कार्यकारी निर्देशक डा. पारस खरेलले हालै प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार सन् २००३ मा कोटा प्रणाली खारेज भएपछि संकटमा परेको यो क्षेत्रले पछिल्ला वर्षहरूमा क्रमिक सुधारको संकेत देखाएको हो।
तथ्याङ्क अनुसार, सन् २०११/१२ ताका १० जनाभन्दा बढी कामदार भएका गार्मेन्ट उद्योगको संख्या जम्मा ७१ मा खुम्चिएको थियो। तर, सन् २०१९/२० सम्म आइपुग्दा यो संख्या उल्लेख्य रूपमा बढेर १८७ पुगेको छ। उद्योगको विस्तारसँगै रोजगारीमा पनि वृद्धि भएको छ। सन् २०११/१२ मा यस क्षेत्रले २ हजार ४ सय ३१ जनालाई प्रत्यक्ष रोजगारी दिएकोमा सन् २०१९/२० मा उक्त संख्या बढेर ५ हजार ८ सय २६ पुगेको छ।
नेपाली गार्मेन्टको निर्यात गन्तव्यमा पनि ठूलो फेरबदल आएको छ। सन् २००३ सम्म ८० प्रतिशतभन्दा बढी निर्यात अमेरिकी बजारमा हुने गरेकोमा हाल युरोपेली युनियन र संयुक्त अधिराज्य (बेलायत) तर्फको हिस्सा बढ्दो छ। विश्व बैंकको सन् २०२१ को प्रतिवेदन अनुसार नेपालसँग वार्षिक १.२ अर्ब अमेरिकी डलर (करिब १२१ अर्ब नेपाली रुपैयाँ) बराबरको थप निर्यात सम्भावना रहेको छ, जुन वर्तमान निर्यातको तुलनामा १४ गुणा बढी हो।
यद्यपि, यो सम्भावनालाई अवसरमा बदल्न नेपालले केही गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने देखिन्छ। गार्मेन्ट उद्योगमा दक्ष जनशक्तिको अभाव, उच्च श्रमिक फेरबदल, न्यून उत्पादकत्व र महँगो ढुवानी मुख्य अवरोधका रूपमा रहेका छन्। साथै, जग्गा प्राप्ति र वित्तमा पहुँच पुग्न नसक्दा उद्योग विस्तारमा बाधा पुगेको छ। अर्कोतर्फ, नेपालले पाउँदै आएको भन्सार सुविधा, मौलिक हस्तकला र डिजाइन, तथा पर्यटन क्षेत्रसँगको अन्तरसम्बन्धले यो उद्योगका लागि नयाँ ढोका खोल्न सक्ने तथ्यांकले देखाउँछ।
















