बीमा प्राधिकरणले कहिले पाउँछ अध्यक्ष ? चर्चामा पूर्व सिइओ विवेक र सुनिल - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

बीमा प्राधिकरणले कहिले पाउँछ अध्यक्ष ? चर्चामा पूर्व सिइओ विवेक र सुनिल



काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण यतिबेला नेतृत्वको पखाईमा छ । प्रधिकारणको अध्यक्षबाट अदालतको आदेशले सरद ओझा बर्खास्त भएपनि अहिले अर्थ मन्त्रालको कर्मचारीको नेतृत्वमा प्राधिकारण रहेको छ ।

अहिले काम चालाउन मात्र नेतृत्व भएकाले नेतृत्व तह खाली सो सरह छ । अहिले रास्वपाको दुइ तिहाईको सरकार र त्यसमा बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएसँगै नयाँ सारथीको खोजी तीव्र पारिएको छ ।

बीमा प्राधिकरणको अध्यक्षकाे लागि बीमा क्षेत्रलाई नजिकबाट बुझेका र यसै क्षेत्रमा लामो अनुभव सँगालेका दुई हस्तीहरू विवेक झा र सुनिल देवकोटाको नाम विशेष चर्चामा रहेको छ । प्राधिकरणको खस्किदो शाखलाई जोगाउन यी दुवै पूर्व बीमाकर्मीहरू योग्य रहेको अहिले चर्चा भइरहेको छ । बीमा क्षेत्रका समस्याहरूलाई नजिकबाट नियालेका यी दुई मध्ये जसले नेतृत्व पाए पनि प्राधिकरणले एक अनुभवी र भिजनरी नेतृत्व पाउनेमा बीमा बजार विश्वस्त देखिएको छ ।


विवेक झा : सफल सिइओदेखि रणनीतिकारसम्म
नेपाली बीमा जगतमा विवेक झा एउटा यस्तो नाम हो जसले झण्डै एक दशकसम्म नेपालको अग्रणी बीमा कम्पनीलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । उनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा १० वर्ष व्यतित गरे ।

उनको कार्यकालमा नेपाल लाइफले बजारमा आफ्नो दरिलो उपस्थिति मात्र जनाएन, बरु बीमा प्रतिको जनविश्वास बढाउन समेत सफल भयो ।

झा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा सञ्चालकको रूपमा समेत काम गरिसकेका छन् । सूर्या लाइफ र ज्योति लाइफ जस्ता दुई ठूला कम्पनीको मर्जरपछि बनेको नयाँ संरचनामा उनको व्यवस्थापकीय कौशलको ठूलो योगदान पुरआएको रुपमा झाको बीमा क्षेत्रमा प्रशंसा गर्ने गरिएको छ ।

झा केवल एउटा कुशल व्यवस्थापक मात्र नभई बीमा क्षेत्रका समस्याहरूलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्न सक्ने रणनीतिकार पनि हुन् । उनी नयाँ पुस्ताका चार्टर्ड एकाउन्टेन्टहरूका लागि प्रेरणाका स्रोत समेत हुन् ।

जसले विभिन्न मञ्चहरूमा बीमा र व्यावसायिकताका बारेमा आफ्ना अनुभवहरू बाँड्दै आएका छन् । बीमा बजारको ’ग्राउण्ड रियालिटी’ बुझेको व्यक्ति नियामक निकायमा पुग्दा यसले समग्र क्षेत्रलाई नै सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ ।

सुनिल देवकोटा : अध्ययनशील विज्ञदेखि नीतिगत परामर्शदातासम्म
बीमा र वित्तीय क्षेत्रमा अर्का प्रभावशाली व्यक्तित्व हुन् सुनिल देवकोटा । उनी चार्टर्ड एकाउन्टेन्ट (सिए) मात्र नभई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का फेलो सदस्य पनि हुन् ।

उनको शैक्षिक पृष्ठभूमि निकै मजबुत छ । उनले अमेरिकाको एलआईजीएस विश्वविद्यालयबाट पीएचडी शोधार्थीका रूपमा आफ्नो बौद्धिक दायरा फराकिलो बनाइरहेका छन् ।

देवकोटाको विज्ञता विशेषगरी कर प्रणाली, डिजिटल कारोबारको जोखिम व्यवस्थापन र नीतिगत विश्लेषणमा रहेको छ । उनले नेपालमा डिजिटल कारोबारमा हुने कर जोखिमका बारेमा गहन अध्ययन गरी विभिन्न लेखहरू समेत प्रकाशित गरेका छन् ।

उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को विभिन्न महत्वपूर्ण समितिहरूमा संयोजक र सदस्यका रूपमा रहेर काम गरिसकेका छन् । देवकोटासँग अन्तर्राष्ट्रिय स्तरका वित्तीय प्रतिवेदन मानहरू र बीमा क्षेत्रको नीतिगत पक्षमा गहिरो दख्खल छ ।

उनले दक्षिण एसियाली एकाउन्टेन्ट्स महासंघका विभिन्न कार्यक्रमहरूमा समेत नेपालको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नीतिगत स्पष्टता र कानुनी जटिलताहरू सुल्झाउन सक्ने उनको क्षमताले प्राधिकरणलाई थप सुदृढ बनाउन सक्ने धेरैको आकलन छ ।

बीमा क्षेत्रको समस्या समाधान अबको बाटो 

हाल नेपालको बीमा क्षेत्रमा धेरै नीतिगत र व्यवहारिक समस्याहरू विद्यमान छन्। नयाँ बीमा ऐन २०७९ को प्रभावकारी कार्यान्वयन, बीमा कम्पनीहरूको पूँजी वृद्धि र मर्जर पछिको व्यवस्थापन, तथा नेपाल वित्तीय प्रतिवेदन प्रतिमान को पूर्ण कार्यान्वयन अहिलेका प्रमुख चुनौती हुन् । साथै, बीमाको पहुँच गाउँ–गाउँसम्म पुर्याउने र दाबी भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने आवश्यकता छ ।

यस्तो जटिल समयमा विवेक झा वा सुनिल देवकोटा मध्ये एकलाई नेतृत्व सुम्पिनु भनेको बीमा क्षेत्रको ’रोग’ बुझेको डाक्टरलाई उपचारको जिम्मा दिनु जस्तै हो । झासँग बजार विस्तार र कम्पनी व्यवस्थापनको व्यावहारिक अनुभव छ भने देवकोटासँग नीतिगत, कानुनी र प्राविधिक पक्षको गहिरो ज्ञान छ ।

सरकारले यी दुई मध्ये कुनै एकलाई नेतृत्वमा ल्याएको खण्डमा बीमा क्षेत्रले लामो समयदेखि खेप्दै आएका समस्याहरू क्रमिक रूपमा समाधान हुने विश्वास गर्न सकिन्छ । विषय बुझेको नेतृत्व आउँदा नै नियामक निकाय बलियो हुन्छ र यसले समग्र अर्थतन्त्र र आम बीमितको हित सुनिश्चित गर्दछ ।


प्रतिक्रिया दिनुहोस्