इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६: डिजिटल अर्थतन्त्र र ‘हिमालयन कम्प्युट करिडोर’को नयाँ युग
नयाँ दिल्ली । नेपाल र भारतबीचको सम्बन्ध अब परम्परागत व्यापारमा मात्र सीमित रहेन। भारतको राजधानी नयाँ दिल्लीमा भर्खरै सम्पन्न ‘इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६’ ले दुई देशबीचको सहकार्यलाई ऊर्जा, डिजिटल प्रविधि र एआईको नयाँ उचाइमा लैजाने ढोका खोलेको छ।
“मानिसहरूलाई जोड्ने र द्विपक्षीय व्यापार बढाउने” नाराका साथ एभरेस्ट च्याम्बर अफ कमर्सले आयोजना गरेको यो तीन दिने महोत्सवले दक्षिण एसियाकै आर्थिक भविष्यको नयाँ खाका प्रस्तुत गरेको छ। दिल्लीको हौज खासस्थित पीएचडी भवनमा भएको यस कार्यक्रममा २० हजारभन्दा बढी मानिसले अवलोकन गरे।
हिमालयन कम्प्युट करिडोर: एउटा क्रान्तिकारी अवधारणा
यस पटकको महोत्सवमा सबैको ध्यान खिच्ने विषय बन्यो- ‘हिमालयन कम्प्युट करिडोर’। नेपालको चिसो हावापानी र प्रचुर जलविद्युत् क्षमतालाई ‘डेटा सेन्टर’ का लागि प्रयोग गर्ने यो अवधारणाले दुवै देशका लगानीकर्तालाई उत्साहित बनाएको छ।
विज्ञहरूले भने, “नेपालको स्वच्छ ऊर्जा र चिसो मौसम विश्वकै ठूला डेटा सेन्टरका लागि वरदान सावित हुन सक्छ।” भारतको बढ्दो एआई र डिजिटल आवश्यकतालाई पूरा गर्न नेपाल एक रणनीतिक साझेदार बन्न सक्ने निष्कर्ष कार्यक्रमले निकालेको छ।
निर्यातको नयाँ बाटो
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले उद्घाटन सत्रमा बोल्दै नेपालले अब सोयाबिन र पाम आयलमा मात्र भर पर्न नहुने बताए। उनले निर्यातमा विविधीकरण ल्याउन र भारतीय बजारमा नेपाली उत्पादनको उपस्थिति बढाउन निजी क्षेत्रलाई स्पष्ट योजनासहित अघि बढ्न सुझाव दिए।
त्यस्तै, भारत सरकारका अतिरिक्त सचिव मुनु महावारले दुई देशबीचको स्टार्टअप साझेदारीबारे जानकारी दिए। उनले भारतीय प्रविधि संस्थान (आईआईटी) मद्रासमा ४० जना नेपाली उद्यमीले तालिम लिएको र केही उद्यमीहरू लगानीका लागि छानिएको तथ्य सार्वजनिक गरे।
उनले नेपालमा हुन लागेको प्रतिनिधी सभा निर्वाचनका लागि भारतले आवश्यक ‘लजिस्टिक’ सहयोग उपलब्ध गराएको समेत जानकारी दिए।

पर्यटन र डिजिटल बैंकिङमा जोड
पर्यटनका क्षेत्रमा रामायण र बुद्ध सर्किटलाई एकीकृत गर्दै ‘डेस्टिनेसन वेडिङ’ र साहसिक पर्यटनलाई आक्रामक रूपमा अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिए। सीमा क्षेत्रको व्यवस्थापन सुधार र प्रभावकारी ब्रान्डिङ भएमा भारतीय पर्यटकको सङ्ख्यामा ठूलो वृद्धि हुने विश्लेषण प्रस्तुत गरियो।
डिजिटल अर्थतन्त्रका बारेमा भएको छलफलमा क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीलाई अझ सहज बनाउने र सीमापार रेमिटेन्सलाई प्रविधिमैत्री बनाउनुपर्ने माग उठ्यो। शिक्षा र स्वास्थ्य उपचारका लागि हुने भुक्तानीलाई झन्झटमुक्त बनाउन दुवै देशका नियामक निकायबीच सहकार्य हुनुपर्नेमा वक्ताहरू एकमत देखिए।
भ्रामक सूचना र जनस्तरको विश्वास
डिजिटल युगमा पत्रकारिताको चुनौतीबारे पनि गम्भीर छलफल भयो। गलत सूचना र नियोजित कथानकले दुई देशको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने भन्दै सञ्चार माध्यमहरू जिम्मेवार हुनुपर्ने धारणा अभिजीत मजमदार र पंकज मिश्र लगायतका वक्ताले राखे। उनीहरूले जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन सही सूचनाको प्रवाह हुनुपर्नेमा जोड दिए।
यस तीन दिने महोत्सवले नेपाल र भारतको सम्बन्धलाई ‘भिजन २०३०’ तर्फ डोर्याएको छ। ऊर्जा, स्टार्टअप र नवप्रवर्तनमा केन्द्रित यो संवादले स्थिर नीति र पूर्वाधार विकास भएमा दुवै देशले साझा समृद्धि हासिल गर्न सक्ने स्पष्ट संकेत गरेको छ।













