रास्वपाको ‘सुनामी’ले भत्कायो भक्तपुरको ‘लालकिल्ला’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रास्वपाको ‘सुनामी’ले भत्कायो भक्तपुरको ‘लालकिल्ला’



नारायणमान बिजुक्छेँ (रोहित) । यो नाम भादगाउँका जनताले राजा महेन्द्रको जमानादेखि नै सुन्दै आएका हुन् । बिजुक्छेँले ५१ वर्षअघि रोहित समूह, सर्वहारा क्रान्तिकारी सँगठन नेपाल र किसान समितिको एकिकरणबाट यो दलको स्थापना गरेका थिए ।

यो पार्टी गठन हुनुभन्दा धेरै पहिला वि.सं. २०१९ सालमा तत्कालिन नगर पञ्चायतको सदस्य भएका उनले भक्तपुरलाई नेपालको एक सशक्त ‘वामपन्थी किल्ला’का रुपमा उभ्याए । त्यसैले केही प्रजातन्त्रवादीहरु भक्तपुरलाई ‘नेपालको उत्तर कोरिया’ भनेर सम्बोधन गर्छन् ।

२०३७ सालको जनमत संग्रह, २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव र २०३९ सालमा स्थानीय पञ्चायतको चुनाव भयो । त्यतिबेला बिजुक्छेँको पार्टी ‘नेपाल मजदूर किसान सङ्गठन’ प्रतिबन्धित थियो । तै पनि उक्त दलका तर्फबाट किसान नेता ज्ञानबहादुर न्याईच्याईँले ०३९ सालको चुनावमा प्रधानपञ्च जिते । बहुमत पञ्चायत सदस्यहरु पनि उनकै दल निकट वामपन्थीहरु आए ।

त्यसो त, नानीमैया दहाल र भद्रकुमारी घलेजस्ता महिलाहरुले राष्ट्रिय पञ्चायत सदस्यको चुनाव जितेकै साल २०३८ मा भक्तपुरबाट कर्णबहादुर ह्युजूले चुनाव जितेका थिए । उनी पनि वामपन्थी धारका स्वतन्त्र उमेदवार थिए । त्यस बेला गोविन्दनाथ उप्रेतीले काभ्रेबाट र रूपचन्द्र विष्टले मकवानपुरबाट जितेका थिए । यी तीनै जना वामपन्थी नेता हुन् ।

पछि २०४४ को स्थानीय पञ्चायत चुनावमा आशाकाजी बासुकला भक्तपुर नगरपञ्चायतको प्रधानपञ्च बने । त्यतिबेलाका ३६ वटा नगरपञ्चायतमध्ये कम्युनिष्ट शक्तिले हासिल गरेको मुख्य किल्ला थियो– भक्तपुर । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा फेरी ज्ञानबहादुर न्याईच्याईँ नगरपालिका प्रमुखमा निर्वाचित भए । २०५४ सालको चुनावमा प्रेम सुवाल नगर प्रमुख चुनिए ।

२०५६ सालमा बिजुक्छेँले एउटा लेख लेखे (जुन पछि पुस्तकका रुपमा प्रकाशित पनि भयो) र त्यहाँ १०० वर्षपछिको भक्तपुरको परिकल्पना गरे । उनको त्यो शताब्दी–लक्ष्यको परिकल्पना यस्तो छ— ‘भक्तपुर संसारकै आकर्षक नगर, बिहान प्राचीन सहरजस्तो, दिउँसो विश्वविद्यालयजस्तो र राति सुन्दर आधुनिक सुन्दरीजस्तो देखिने’ छ ।

भक्तपुर नगरपालिकालाई ‘आधार क्षेत्र’ बनाएर नेपालमा माक्सवादी विचारधारा र साम्यवादी राजनीतिक लक्ष्य बोकेको दल नेपाल मजदूर किसान पार्टी (नेमकिपा)को मजबूत किल्ला अब भत्किएको छ ।

यो चुनावमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् । नेमकिपाका प्रेम सुवाल ७ हजारभन्दा धेरै मतान्तरले पछि परेर ‘दोस्रो’ स्थानमा आएका छन् ।

यीनै सुवाल यसअघि दुई पल्ट सांसद निर्वाचित भएका थिए । २०४८, २०५१, २०५६, २०६४ र २०७० गरी पाँच पल्ट बिजुक्छेँ स्वयम् सांसद बने । २०७४ देखि सुवाल यो क्षेत्रबाट सांसद बन्न थालेका हुन् । जेनजी आन्दोलनपछि राजनीतिक संक्रमण व्यवस्थापन गर्न सुशिला कार्की नेतृत्वको सरकारले भंग गरेको प्रतिनिधी सभामा पनि सुवाल सांसद थिए । उनले २०७९ को चुनावमा राम्रै मतान्तरमा त्यहाँबाट जीत निकालेका थिए ।

तर अब उनले यो ‘किल्ला’ सुरक्षित राख्न सकेनन् । झण्डै ४५ वर्षपछि भक्तापुरको प्रतिनिधित्व अब ‘गैह्र वामपन्थी’ नेताले गर्दै छन् । रुकेशले ३३,४३६ मत पाएर विजयी भएका छन् भने सुवालले २८,१४७ मत पाएका छन् । नेपाली काँग्रेसका किरण न्यौपानेले ४,२८२ र एमालेका सोमप्रसाद मिश्रले ३,७२१ मत पाएका छन् । यो मतले पनि भक्तपुरमा नेमकिपाको किल्लाको जरा कत्तिको गहिरो छ भन्ने अनुमान लगाउन सकिन्छ ।

यो पालाको चुनावमा रास्वपाले ल्याएको ‘सुनामी’ले भक्तपुर १ लाई पनि राम्रैसँग ‘सफाइ’ गरेको छ । तर, अझै यो ‘लालकिल्ला’ ध्वस्त भएको छैन । भक्तपुर नगरपालिकाको नेतृत्व अहिले पनि नेमकिपाकै खुङ्खार कार्यकर्ता सुनिल प्रजापतीले गरिरहेका छन् । संसदीय निर्वाचनमा यस पल्ट भक्तपुरे नाजरिकले आफ्नो मत बदलेका छन् । यो बदलावले त्यहाँका नागरिकलाई ‘परिवर्तनको लत’ लगाउँछ वा उनीहरु भविष्यमा पुन: ‘वामपन्थी विगत’मा फर्किन्छन् भन्ने हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्