कलाकार जयनन्द लामाको निधन
काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।
उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।
आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताए ।
















