अर्बैँ डलर खर्चिएको विश्वकपकाे रौनकले पनि बढाउन सकेन अमेरिकी पर्यटन, व्यापार र राेजगारी पनि सुस्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्बैँ डलर खर्चिएको विश्वकपकाे रौनकले पनि बढाउन सकेन अमेरिकी पर्यटन, व्यापार र राेजगारी पनि सुस्त



काठमाडौँ । विश्वभरका करोडौँ फुटबल समर्थकलाई रोमाञ्चित बनाएको सन् २०२६ को फिफा विश्वकपले अमेरिकालाई आर्थिक रूपमा भने अपेक्षित लाभ दिलाउन नसकेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

लाखौँ फुटबल प्रेमीहरूको जमघट र रंगशालाहरूमा देखिएको अभूतपूर्व उत्साहका बावजुद, यस महाकुम्भले अमेरिकाको समग्र पर्यटन क्षेत्रमा भने कुनै ठूलो उथलपुथल ल्याउन सकेन। ‘विश्वकप आएपछि विदेशी पर्यटकको ओइरो लाग्नेछ’ भन्ने पर्यटन व्यवसायी र अर्थशास्त्रीहरूको दाबी केवल कागजमै सीमित हुन पुगेको छ।

विश्वकपअघि फिफा र अमेरिकी आयोजकहरूले प्रतियोगिताले लाखौँ विदेशी पर्यटक भित्र्याउने, होटल व्यवसाय फस्टाउने, खुद्रा व्यापार बढ्ने र स्थानीय अर्थतन्त्रमा ठूलो ऊर्जा थपिने दाबी गरेका थिए। तर अमेरिकी राष्ट्रिय यात्रा तथा पर्यटन कार्यालयको पछिल्लो तथ्यांकले ति सबै दाबीलाई झुटाे प्रमाणित गरिदिएकाे छ।

प्रतिवेदनअनुसार विश्वकप सम्पन्न भएको जुन महिनामा अमेरिकामा विदेशी पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा केवल ०.२ प्रतिशत मात्र बढेको छ। विश्वकै सबैभन्दा ठूलो खेल प्रतियोगिता आयोजना गर्ने देशका लागि यस्तो वृद्धि अत्यन्तै न्यून मानिन्छ।

क्षेत्रगत तथ्यांकले पनि मिश्रित तस्वीर देखाएको छ। अफ्रिकाबाट आउने पर्यटक १३.८ प्रतिशत र दक्षिण अमेरिकाबाट ४.७ प्रतिशत बढे पनि अमेरिकाका लागि मुख्य पर्यटन स्रोत मानिने युरोपबाट आउने पर्यटक १.२ प्रतिशतले घटेका छन्। त्यस्तै एसियाबाट आउने पर्यटकको संख्यामा झन् ५.६ प्रतिशतले कमी आएको छ। यसले विश्वकपले अन्तरमहादेशीय पर्यटक आकर्षित गर्ने अपेक्षा पूरा गर्न नसकेको देखाएको छ।

विश्वकपका बेला होटल भरिभराउ हुने र कोठाको मूल्य आकासिने अनुमान गरिएको थियो। तर अमेरिकी मुद्रास्फीति प्रतिवेदनले होटलको औसत शुल्क २.८ प्रतिशतले घटेको देखाएको छ। कतिपय आयोजक सहरमा सुरुआती बुकिङ अपेक्षाभन्दा कम भएपछि होटलहरूले छुट दिन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

हवाई टिकटको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएन। मनोरञ्जनसम्बन्धी खर्च सामान्य रूपमा बढे पनि त्यो वृद्धि केवल ०.५ प्रतिशतमा सीमित रह्यो। विश्वकपले साँच्चै ठूलो आर्थिक प्रभाव पारेको भए होटल, हवाई यात्रा र पर्यटनसँग सम्बन्धित सूचकहरूमा अझ स्पष्ट वृद्धि देखिनुपर्ने अर्थशास्त्रीहरूकाे धारणा छ।

यता रोजगारीको अवस्थाले पनि त्यति उत्साहजनक संकेत दिएन। जुन महिनामा अमेरिकाको पर्यटन तथा आतिथ्य क्षेत्रमा ६१ हजार रोजगारी घटेको तथ्यांक सार्वजनिक भएको छ। यद्यपि केही विश्लेषकले यो तथ्यांक पछि संशोधन हुन सक्ने बताएका छन्, तर हालसम्म उपलब्ध विवरणले विश्वकपबाट अपेक्षित रोजगारी सिर्जना नभएको संकेत गरेको छ।

यस्तै यस महिना खुद्रा व्यापार समेत अपेक्षित रूपमा बढ्न सकेन । जुन महिनामा अमेरिकाको खुद्रा बिक्री केवल ०.२ प्रतिशत, रेस्टुरेन्ट तथा बारमा भएको खर्च पनि ०.१ प्रतिशत मात्र बढ्यो, जुन अनुमान भन्दा निकै कम हाे । विश्वकपको माहोलले उपभोक्ता खर्चमा ठूलो उछाल ल्याउने अपेक्षा गरिए पनि राष्ट्रिय स्तरमा त्यसको प्रभाव सीमित देखिएको हो।

फिफाले यसअघि सार्वजनिक गरेको अध्ययनमा विश्वकपले अमेरिकालाई ३०.५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक लाभ पुर्‍याउने र करिब १ लाख ८५ हजार पूर्णकालीन रोजगारी सिर्जना गर्ने दाबी गरेको थियो।


प्रतिक्रिया दिनुहोस्