पाँचौ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ सम्म, ३८ देशका ८९ चलचित्रबीच प्रतिष्पर्धा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पाँचौ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ सम्म, ३८ देशका ८९ चलचित्रबीच प्रतिष्पर्धा



काठमाडौं । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्र १७ गतेदेखि २१ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चैत्र १० देखि १४ गतेसम्म हुने भनिएकोमा प्राविधिक कारणले परिवर्तन गरिएको जनाएको छ ।

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भच्र्युअल रुपमा गरिएको थियो । यस बर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भच्युअल गर्ने तयारी गरिएको तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि भौतिक रुपमा गर्न गईरहेको कुरा पनि पत्रकार सम्मेलनमा फेष्टिभल चेयरमेन केपी पाठकले बताएका छन् ।

पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले राज्य गर्नुपर्ने चलचित्र सम्बन्धि यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैमा ठुलो रहेको बताएका छन् । साथै उनले बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको कुरा उल्लेख गरे ।

त्यस्तै महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले पत्रकार सम्मेलनमा निफ जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । महोत्सवमा प्रर्दशन हुने विश्वभरिका उत्कृष्ठ चलचित्र हेरेर हामी चलचित्रकर्मी मात्र हैन आम चलचित्रप्रेमी दर्शकहरुले पनि धेरै कुरा प्राप्त गर्न सक्ने उनले बताए ।

त्यस्तै, बरिष्ठ चलचित्र निर्देशक तथा चौथो निफका जुरी हेड तुलसी घिमिरेले अन्तर्राष्ट्रिय महोत्सव गर्नु आफैमा चुनौती रहेको बताए । यस्ता महोत्सवलाई निरन्तरता गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाई छ ।

महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्