महिलाको उद्यमशीलता विकासलाई इ–सेवाले सघाउने
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फाल्गुण २५ गते बुधवार मोरङ व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम आयोजना गरेको हो ।
महिलाहरुले आय–आर्जन गरेको शीपलाई उद्यमशीलतामा परिवर्तित गरी आय आर्जन तर्फ उन्मुख गराउनु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइएको छ । साथै व्यापार÷व्यवसाय गर्ने सोच बनाउनु भएका, भर्खरै व्यापार व्यवसायको प्रारम्भ गरेका महिलाहरुलाई लक्षितगरी आ–आफ्नै व्यवसाय स्थल, घरबाट पनि आर्थिक कारेबार गर्न सहज होस् भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष श्री नवीन रिजालले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री माननीय श्रीमती विष्णु तुम्बाहम्फेले राज्यको समग्र क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता रहनु पर्नेमा अहिले पनि त्यति सहभागिता हुन नसक्नु हामी सबैको कमजोरी हो । कार्यक्रमले महिलाहरु पनि पुरुष सरह राज्यका हरेक क्षेत्रमा सहकार्य तथा जिम्मेवारी वहन तथा आधुनिक प्रविधिसँग प्रविधि मैत्री हुन चाहेको स्पष्ट पारेको बताईन ।
सो कार्यक्रममा ई–सेवा, विराटनगरका प्रमुख झलक सुब्बाले ई–सेवा नेपालकै पहिलो सेवा प्रदायक संस्था हो र यसवाट जुनसुकै स्थानवाट पनि आफूले चाहेको सुविधा लिन सकिने भएको र विशेष गरी महिलाहरुलाई लक्षित गरि यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।
उक्त कार्यक्रमलाई संघको महिला उद्यम समितिका सदस्य जीना कार्कीले सञ्चालन गरेकी थिईन भने सो कार्यक्रममा संघका सचिव श्री संजय श्रेष्ठ, का.का.सदस्य श्री दिपेश सुवेदी, का.का.सदस्य श्री गोपाल अग्रवाल साथै समितिकी संयोजक श्री वन्दना जैन, साधना झा, जीना श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
















