शहरी क्षेत्रबाट एक वर्षमा १० लाख टन फोहोर उत्पादन हुने
काठमाडौं । नेपालको शहरी क्षेत्रबाट एक वर्षमा १० लाख टन फोहोर उत्पादन हुने सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन प्रतिवेदन अनुसार हरेक वर्ष उत्पादन हुने फोहोरमध्ये ३१.५१ प्रतिशत फोहोर नदी किनार तथा बगरमा फाल्ने गरिन्छ ।
विभागले नेपालमा अहिलेसम्म फोहोरमैला उत्पादन तथा उपयोगसम्बन्धी पूर्वअध्ययन प्रतिवेदन, प्रकाशित प्रतिवेदन तथा अनुसन्धानमुलक लेखहरुको अध्ययन गरी उपलब्ध तथ्यांक तथा सूचना संकलन गरी सिस्टम अफ इन्भारोमेन्टल अकाउन्टिङ (एसईईए) ढाँचा अबलम्बन गर्दै राष्ट्रिय फोहोरमैला लेखा पद्दती तयार गरेको छ ।
सोही ढाँचामा आधारित रहेर देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको फोहोरमैला व्यवस्थापनका तथ्यांकलाई अध्ययनमा समेटेको विभागले जनाएको छ । विभागका अनुसार ३ लाख १५ हजार ६९ टन फोहोर नदी किनार तथा बगरमा , ३ लाख ८९ हजार ९८३ टन (झण्डै ३९ प्रतिशत) फोहोर भने ल्यान्डफिल साइटमा जम्मा हुने गरेको छ । यस्तै २२ हजार ७५ टन (२.२१ प्रतिशत) फोहोर जलाइन्छ भने ८ हजार ६९० टन (०.८७ प्रतिशत) फोहोर पुनः प्रयोगमा जान्छ । बाँकी २ लाख ६४ हजार १८३ टन (२६.४१ प्रतिशत) फोहोरको व्यवस्थापनबारे भने प्रतिवेदनमा उल्लेख छैन ।
अध्ययन अनुसार नेपालमा सबैभन्दा धेरै फोहोर आवासीय क्षेत्रबाट उत्पादन हुन्छ । आवासीय क्षेत्रबाट वार्षिक ३ लाख ८६ हजार ६९० टन फोहोर उत्पादन हुने केन्द्रीय तथ्यांक विभागको आंकडा रहेको छ । अध्ययन अनुसार नेपालमा धेरै मात्रामा फोहोर अग्र्यानिक वस्तुमार्फत उत्पादन हुन्छ । यसमा कृषिजन्य वस्तुबाट हुने फोहोरको मात्रा धेरै हुने गरेको छ । यसबाहेक प्लाष्टिक, पेपर उत्पादन, मेटल, ग्लास, रबर तथा लेदर, टेक्सटायल बढी मात्रामा उत्पादन हुने फोहोर हो ।
व्यापारिक क्षेत्रबाट २ लाख ४५ हजार ८८४ टन र शैक्षिक संस्थाबाट १ लाख ३ हजार २४४ टन फोहोर उत्पादन हुन्छ । त्यस्तै औद्योगिक क्षेत्रबाट मात्र ९४ हजार ३९२ टन फोहोर उत्पादन हुने तथ्यांक छ । स्वास्थ्य सेवा क्षेत्रबाट १ लाख १ हजार ५०७ टन फोहोर उत्पादन हुने गरेको छ ।
















