भूमि अधिकार मञ्च ललितपुर सम्मेलनः भूमिहिन किसानहरु देशव्यापी उठ्न अपिल
ललितपुर । भूमिअधिकार सरोकारवाला र भूमिहिन किसानहरुले दशकौँदेखि कायम रहेको भूमीसमस्याको दिगो समाधानका लागि सरकारसँग माग गरेका छन् । भूमिहीन एवं भूमिको अधिकारबाट वञ्चित किसानहरुले देशव्यापी रुपमा आफ्नो हक स्थापित गर्न उठ्नुपर्नेमा जोडसमेत दिएका छन् ।
शनिवार गोदावरी नगरपालिकाको चापागाउँमा जिल्ला भूमि अधिकार मञ्च ललितपुरको चौथो सम्मेलनको अवसरमा भेला भएका भूमिहिन किसान र भूमि अधिकारको लागि स्थापित संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुले नागरिक नै निर्णायक हुने गणतान्त्रिक व्यवस्थामा पनि जमिन जोत्ने किसानहरु जमिनको अधिकारबाट बञ्चित हुनु चिन्ताको विषय भएको बताउँदै राज्यले भूमिअधिकार दिलाउन मागसमेत गरे ।
जिल्ला सम्मेलनले रामकुमार केसीको अध्यक्षतामा १३ पदाधिकारी रहेको जिल्ला भूमि अधिकार मञ्चको कार्य समिति चयन गरेको छ । सम्मेलनमा ५० जना सहभागी भएका थिए । गाउँ भूमि अधिकार मञ्चमा सङ्गठित सवालगत भूमि पीडित किसान एवं भूमिहीनहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा प्रमुख अतिथिको रूपमा बागमती प्रदेश सभा सदस्य मा. मधुसुदन पौडेले सहभागी हुनु भई ललितपुरमा रहेको भूमिसम्बन्धी समस्या समाधानको लागि सासंदको हैसियतमा पहल लिने बताउनुभयो । उहाँले भन्नुभयो, म आफैं पहिले जिल्ला भूमि आयोगको अध्यक्षमा रहेका काम अघि बढाएको थिएँ, तर काम सुरु गरेको छोटो समयमा नै आयोग विघटन हुन पुग्दा भूमिहीनहरुलाई लालपुर्जा दिने काम अधुरै रह्यो । अव, अहिले पनि आयोगले काम गरिरहेको हुँदा भूमिहीनका समस्या समाधानको लागि आफूले पहल पनि बताउनुभयो ।
कार्यक्रममा सहभागी हुँदै सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका अभियान अधिकृत विश्वास नेपालीले भन्नुभयो, भूमिहीनहरुलाई जग्गा दिन कोही आउँदैनन्, पीडितहरु आफैं सङ्गठित भई आफ्नो हक र अधिकार खोज्ने हो । त्यसको लागि भूमिहीनहरुको सङ्गठित शक्ति बलियो बनाउन भूमि अधिकार मञ्च सङ्गठन देशभर क्रियाशील रहेकाले ललितपुरका भूमिहीन एवं भूमिको अधिकारबाट वञ्चितहरु पनि सक्रिय भएर अभियानमा लाग्न र आफ्नो हक स्थापित गर्न जरुरी छ ।
सम्मेलनमा सहभागी भूमि पीडित किसान एवं सदस्यहरुले सक्रिय भई भूमि अधिकार अभियान अघि बढाउने र भूमिहक लिइछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले भने, हामी राजधानीबाट नजिकै भएरपनि भूमिहीन भइरहनु परेको छ, यो विडम्बना हो । हामीलाई सरकारले कहिल्यै सुनने, अव हामी शसक्त आन्दोलन गछौँ ।

राजधानीकै जिल्ला भएपनि ललिपुरमा अहिले पनि बिर्ता समस्या छ । गुठी समस्या छ । भूमिहीन सुकुम्बासी र ऐलानी पीडितहरुको सस्या टड्कारो रहेको छ । २ वर्षपहिले नै भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दर्ता गरेको भएपनि अहिलेसम्म निस्सा पनि पाउन नसक्दा भूमिहीनहरु अन्योलमा छन् । अहिले पनि राष्ट्रिय भूमि आयोगले काम गरिहेको छ, ललितपुरमा पनि जिल्लास्तरीय भूमि आयोगको समिति छ तर, आयोगले कुनै पनि प्रक्रिया अघि नबढाएको र स्थानीय तहमा पेश गरेको निवेदनहरुको प्रक्रिया अघि बढाउन ताकेता नगरेको प्रति भूमिहीहरुले सम्मेलनमा गुनासो राखेका थिए ।
सम्मेलनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा मा क्रमशः तारा नेपाली, राम शाही, लक्ष्मि पुर्काेटी, कल्पना पुर्काेटीलाई चयन गरेको छ भने सदस्यहरुमा गुरुङ केसी, सुर्य तामाङ, गणेश नेपाली, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर सुन्दास, रामप्रसाद घिमिरे, कृति तामाङ र अनिशाा थापालाई चयन गरेको छ ।
















