साउदी अरबद्वारा इरानमाथि गोप्य सैन्य आक्रमण, क्षेत्रीय तनावले लियो नयाँ मोड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साउदी अरबद्वारा इरानमाथि गोप्य सैन्य आक्रमण, क्षेत्रीय तनावले लियो नयाँ मोड



काठमाडौंँ । पश्चिम एसियामा जारी युद्धको राप र तापका बीच साउदी अरबले इरानभित्रै छिरेर गोप्य रूपमा सैन्य आक्रमण गरेको खुलासा भएको छ। आफ्नो भूमिमा भएका शृंखलाबद्ध हमलाहरूको बदला लिन साउदीले इरानमाथि प्रत्यक्ष प्रहार गरेको यो पहिलो घटना हो।

दुई पश्चिमा अधिकारी र दुई इरानी स्रोतलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले यस्तो खबर छापेको हो ।

ती स्रोतहरुको हवाला दिँदै रोयटर्सले लेखेको छ, ‘साउदी वायुसेनाले मार्च महिनाको अन्त्यतिर यी आक्रमणहरू सम्पन्न गरेका थिए। हालसम्म सार्वजनिक नगरिएका यी हमलाहरूले साउदी अरब आफ्नो सुरक्षाका लागि प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी विरुद्ध थप आक्रामक र साहसी बन्दै गएको संकेत गरेका छन्।’

रोयटर्सले ती आक्रमणका विशिष्ट लक्ष्यहरू स्पष्ट पार्न नसके पनि यसलाई ‘जस्तालाई त्यस्तै’ जवाफका रूपमा विश्लेषण गरिएको छ।

पर्दाभित्रको युद्ध र खाडी राष्ट्रहरूको सक्रियता

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्वले बिस्तारै सिङ्गो पश्चिम एसियालाई आफ्नो चपेटामा पारेको छ। इरानले जवाफमा अमेरिकाका सैन्य अखडा मात्र नभई खाडी सहयोग परिषद्का ६ वटै सदस्य राष्ट्रका नागरिक संरचना, विमानस्थल र तेल प्रशोधन केन्द्रहरूमा मिसाइल तथा ड्रोन प्रहार गरेको थियो।

यही क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि इरानमाथि सैन्य कारबाही गरेको समाचार बाहिरिएको छ। अमेरिकाको सुरक्षा छाताभित्र रहने परम्परागत नीतिभन्दा बाहिर निस्किएर खाडीका राजतन्त्रात्मक मुलुकहरूले इरानलाई प्रत्यक्ष सैन्य चुनौती दिन थालेको यो घटनाले युद्धको लुकेको पाटोलाई उजागर गरेको छ।

कुटनीति र सैन्य दबाबको सन्तुलन

साउदी अरब र यूएईको रणनीतिमा भने केही भिन्नता देखिएको छ। यूएईले इरानविरुद्ध कडा र आक्रामक अडान लिँदै वार्ताको ढोका कमै मात्र खोलेको छ भने साउदी अरबले सैन्य प्रहारसँगै कुटनीतिक संवादलाई पनि निरन्तरता दिएको छ।

साउदीले इरानलाई आफ्ना आक्रमणहरूबारे जानकारी गराउँदै थप सैन्य कारबाही गर्ने चेतावनी समेत दिएको थियो। यही दबाब र गहन कुटनीतिक छलफलका कारण दुई देशबीच तनाव कम गर्ने (डी-एस्केलेसन) समझदारी बनेको दाबी गरिएको छ।

इरानी अधिकारीहरूले पनि आपसी हितको रक्षा र युद्धको विस्तार रोक्न रियादसँग समझदारी भएको पुष्टि गरेका छन्। सन् २०२३ मा चीनको मध्यस्थतामा पुनः स्थापित भएको साउदी-इरान सम्बन्ध यसपटकको तनावले पूर्णतः भंग हुनबाट जोगिएको देखिन्छ।

तनाव न्यूनीकरणका प्रयास र वर्तमान स्थिति

अप्रिल ७ मा अमेरिका र इरानबीच बृहत्तर युद्धविराम हुनुअघि नै साउदी र इरानबीचको अनौपचारिक समझदारी कार्यान्वयनमा आइसकेको थियो। मार्चको अन्तिम साता साउदी अरबमाथि सातामै १०५ भन्दा बढी ड्रोन र मिसाइल प्रहार भएकामा अप्रिलको पहिलो साता त्यो संख्या घटेर २५ मा झर्नुले यस समझदारीको प्रभावलाई पुष्टि गर्दछ।

साउदी नेतृत्वले छिमेकीबाट भएको पीडा सहेरै भए पनि आफ्ना नागरिक र सम्पत्तिको सुरक्षाका लागि विनाशको भुमरीबाट देशलाई जोगाउने नीति लिएको देखिन्छ।

यद्यपि, इरान समर्थित समूहहरूले इराकी भूमिबाट साउदीमाथि प्रहार गर्ने क्रम नरोकिएपछि क्षेत्रीय सुरक्षा अझै पनि संवेदनशील अवस्थामा छ। पाकिस्तानले समेत साउदी अरबको सुरक्षाका लागि आफ्ना लडाकु विमानहरू तैनाथ गरेर संयमता र कुटनीतिमा जोड दिएको छ।


प्रतिक्रिया दिनुहोस्