‘विकासवादी’ नेता डा. महतको प्रतिज्ञापत्र सार्वजनिक, नुवाकोट विकासमा के हो उनको संकल्प ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘विकासवादी’ नेता डा. महतको प्रतिज्ञापत्र सार्वजनिक, नुवाकोट विकासमा के हो उनको संकल्प ?



विदेशी ऋणको प्रतीक्षा नगरी आन्तरिक स्रोतबाटै छहरे–टोखा सुरुङ छेडेर काठमाडौँलाई बाँकी देशसँग जोड्ने ‘नयाँ नाका’ उपलब्ध गराउनेमात्रै होइन, थानसिङदेखि कोल्पुटार र रातमाटेसम्म विशाल ‘पश्चिमोत्तर स्याटेलाइट सीटी’को अवधारणा बोलेका डा. महतले नुवाकोटलाई ‘विकास एकीकरण’ प्रस्थान विन्दु बनाउने सपना देखेका छन् ।

नुवाकोट । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नुवाकोट क्षेत्र नम्बर १ को चुनावी मैदान केवल एक राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित छैन।

यो निर्वाचन अहिले एउटा यस्तो दुरगामी भिजनको परीक्षण केन्द्र बनेको छ, जसले काठमाडौँको उत्तर-पश्चिमी भेगलाई देशकै अत्याधुनिक ‘स्याटेलाइट सिटी’ मा बदल्ने र मुलुकको अर्थतन्त्रलाई परनिर्भरताबाट मुक्त गर्ने संकल्प बोकेको छ।

यस अभियानको केन्द्रमा छन्, नेपाली कांग्रेसका ‘हेभिवेट’ नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत । जसलाई नुवाकोटको आधुनिक विकासको ‘वास्तुकलाविद्’ का रूपमा चिनिन्छ।

नेपालको राजनीतिमा बौद्धिक र व्यावहारिक सन्तुलन मिलाउन सक्ने थोरै नेताहरूमध्ये डा. महत एक हुन्। उनले सम्हालेका मन्त्रालयहरूको सूचीले मात्र उनको कद बताउँदैन, बरु उनले संकटका बेला चालेका साहसिक कदमहरूले उनको क्षमता पुष्टि गर्दछन्।

विश्व बैंक र आईएमएफजस्ता विश्व संस्थाहरुले ऋण दिएर आफ्ना ‘विचार लाद्ने’ परिपाटीको संसारभर विरोध हुँदै आएको छ । तर त्यो विरोधको स्वर ज्यादातर देशका अर्थमन्त्रीहरुका हकमा ‘मलीन’ सुनिन्छ । उनीहरुको वार्षिक सभामा पुगेर उनीहरुलाई नै ‘थर्काउँदै’ नेपालको हित र स्वार्थमा मात्रै सम्झौता गर्ने शङ्खघोष गर्नसक्ने संसारमा सीमित समकालिन अर्थमन्त्रीमध्ये एक हुन् डा. महत ।

उर्जा मन्त्री हुँदा नुवाकोट र कैलालीबाट सुरु गरेको ‘पूर्ण विद्युतीकरण’ अभियान होस् वा अर्थतन्त्र ‘बर्बादीको डिल’ मा पुगेका बेला त्यसलाई ‘सुरक्षित अवतरण’ गराउने कुशल वित्तीय व्यवस्थापन, डा. महतले आफूलाई पटक-पटक प्रमाणित गरिसकेका छन्।

नुवाकोटको विकासको इतिहास पल्टाउँदा एक दशकअघि अलपत्र परेको पासाङ ल्हामु राजमार्गको प्रसंग उल्लेख्य छ। भारतीय ऋण सहायताको पर्खाइमा काम रोकिएर धुलाम्य बनेको त्यो सडकलाई डा. महतले नै अर्थमन्त्री हुँदा आन्तरिक स्रोतबाट बजेट सुनिश्चित गराई कालोपत्रेको चरणमा पुर्‍याएका थिए।

उनको विकास दृष्टि सडक विस्तारमा मात्र सीमित छैन; उनले नुवाकोटका तत्कालीन तीनवटा निर्वाचन क्षेत्रलाई जोड्ने गरी ‘लिङ्क रोड’ को अवधारणा ल्याएर ग्रामीण भेगलाई बजारसँग जोड्ने कामको नेतृत्व गरे।

मध्यपहाडी लोकमार्गको एलाइनमेन्ट काठमाडौँबाट नुवाकोटतर्फ मोड्नुलाई उनको राजनीतिक कुशलता र जिल्लाप्रतिको लगावको रूपमा लिइन्छ, जसले आज नुवाकोटका सामरी, विदुर, र लिखु खोलाका तिरैतिरका बस्तीहरूलाई राष्ट्रिय समृद्धिको मूलधारमा जोड्दै छ।

वर्तमान चुनावी सन्दर्भमा डा. महतको सबैभन्दा ठूलो र रणनीतिक एजेन्डा ‘छहरे–टोखा सुरुङमार्ग’ बनेको छ। सुरुमा चिनियाँ ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गत बनाउने भनिएको यो आयोजना भू-राजनीतिक जटिलता र वैदेशिक ऋणको भारीले थिचिने जोखिममा थियो।

तर डा. महतले यसलाई नयाँ मोड दिएका छन्। उनले करिब ७ किलोमिटर लामो खर्चिलो सुरुङको सट्टा भौगोलिक पुनरावलोकन गरी ४ किलोमिटरको ‘रिडिजाइन’ प्रस्ताव अघि सारेका छन्। जसले गर्दा विदेशी ऋणको मुख नताकी नेपालकै आन्तरिक स्रोतबाट यो आयोजना सम्पन्न गर्न सकिने उनको दाबी छ।

यो सुरुङमार्ग केवल सडक मात्र नभई थानसिङ, लिखु, तादी र त्रिशूली बेसिनका विशाल फाँट तथा टारहरूलाई काठमाडौँको ‘पश्चिमोत्तर स्याटेलाइट सीटी’ मा रूपान्तरण गर्ने एउटा वृहत्तर गुरुयोजनाको प्रस्थानविन्दु हो।

यो सुरुङमार्ग किन पनि ज्यादा महत्वपूर्ण छ भने, डेढ वर्षअघि दशैंका बेलामा आएको भारी वर्षातले काठमाडौँ उपत्यकालाई बाँकी देशसँगको सम्पर्क टुटाएका बेला एकमात्र बाटो चालु हालतमा थियो— त्यो छहरे–टोखा हो । पहाडी राजधानीलाई बाँकी देशसँग जोड्ने सबैभन्दा बलियो ‘सेतु’ नै उत्तरी नाका हुन्छ भन्ने यो घटनाले देखाएको छ । तर टोखाबाट शिवपुरीको गुर्जे भञ्ज्याङ उक्लिने राष्ट्रिय निकुञ्जभित्रको बाटो असाध्यै ‘ठाडो’ छ । यसले ठूला र टाढाका सवारीसाधनलाई अवरोध गरेको थियो । सुरुङमार्ग बनेको अवस्थामा त्यो समस्या समाधान हुन्छ र पुरा देशलाई राजधानीसँग जोड्न एक बलियो वैकल्पिक ‘नाका’ उपलब्ध हुन्छ ।

मंगलबार नुवाकोटमा सार्वजनिक गरिएको डा. महतको ‘समृद्ध नुवाकोट निर्माण अभियान’ नामक प्रतिज्ञा पत्रले उनको आगामी कार्यदिशा स्पष्ट पारेको छ। उनले निर्वाचनलाई केवल मत प्राप्त गर्ने माध्यम मात्र बनाएका छैनन्, बरु जनताको विश्वासलाई परिणाममा बदल्ने ठोस रोडम्याप प्रस्तुत गरेका छन्।

निर्माणाधीन बालाजु–रानीपौवा–पिपलटार र तिनपिप्ले–गल्छी वैकल्पिक राजमार्गलाई पूर्णता दिने प्रतिबद्धतासँगै उनले नुवाकोटको कृषि र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेका छन्। लिखु र तादी नदीको कटान नियन्त्रण गरी उर्वर भूमिमा सिँचाइ पुर्‍याउने र सिसडोल–बञ्चरे डाँडाको वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने जस्ता संवेदनशील विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

धार्मिक र साहसिक पर्यटनको क्षेत्रमा दुप्चेश्वर र कपिलेश्वर महादेव जस्ता तीर्थस्थललाई विश्वकै नक्सामा राख्ने र ककनीदेखि गोल्फुभञ्ज्याङसम्मको पर्यटकीय सर्किट विकास गर्ने उनको योजनाले नुवाकोटलाई बाह्य लगानीको केन्द्र बनाउने संकेत गर्दछ।

डा. महतको यो चुनावी अभियान केवल एक सांसदको उम्मेदवारी मात्र नभई, नुवाकोटलाई आर्थिक समृद्धिको नयाँ नमुना बनाउने एक इमानदार प्रयासका रूपमा हेरिएको छ।

फागुन २१ को जनादेशले उनको यो सपना र संकल्पलाई कुन दिशा दिनेछ, त्यो त भविष्यले बताउनेछ । तर हाललाई उनले नुवाकोटमा विकासको जुन बहस छेडका छन्, त्यसले उनलाई एक ‘रियल भिजनरी’ नेताका रूपमा स्थापित गरिसकेको छ।

यस्तो छ डा. महतको प्रतिज्ञापत्र :


प्रतिक्रिया दिनुहोस्