वातावरणीय तथा सामाजिक पक्षमा संवेदनशील बन्न जलविद्युत प्रबर्द्धकलाई सुझाव - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वातावरणीय तथा सामाजिक पक्षमा संवेदनशील बन्न जलविद्युत प्रबर्द्धकलाई सुझाव



काठमाडौं । जलविद्युत् प्रवर्दकहरु जलविद्युत् आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ । हिमालयन हाईड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरकृयाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि यस्तो आवश्यकता बढ्दो रहेको औल्याएका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतिपूर्ण हुने आँकलन गरे । नेपालका अधिकाँश जलविद्युत् आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नु पर्ने क्षेत्रमै आयोजनाहरु धेरै हुँदा विकास र वातावरणलाई सन्तुलित रुपमा लैजानुपर्ने आवश्यकता रहेको बताए । “हामीले जलचर संरक्षण गर्न पनि त हामीले हेर्नुपछ नी । विगतका पाठका आधारमा भावि दिनमा कार्ययोजना बनाउनु पर्ने महसुस हामीले गरेका छौ । एकिकृत जल उपयोग नीतिअनुसार नदि बेसिनमा आधारित विद्युत् विकासमा जाँदा जलको उचित व्यवस्थापन सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नै पर्छ ।” उनले भने ।

सानिमा हाईड्रोका प्रमुख डा. सुवर्णदाश श्रेष्ठले वातावारणीय सामाजिक विषयबस्तुलाइृ हामीले प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नु परेको दृष्टान्त प्रस्तुत गरेका थिए । “अव जलविद्युत्मा लगानी मात्र सोच्ने होइन वातावरण समाजिक व्यवस्थापनमा सोच्नु पर्छ । जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ,” उनले भने ।

वातावरणीय व्यवस्थापनमा वृक्षारोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्याशैली गलत रहेको टिप्पणी उहाँको थियो । उनले भने, “आयोजना बनाउँदा वृक्षारोपण कहाँ गएर गर्ने जमिन नै पाएनौ । हामी विरुवा हुर्काउन तयार छौं । नेपालको नाँगा डाडा दिनुस न हामी खुसीसाथ गर्न तयार छौं । तर हामी आयोजना स्थल नजिकै किन्दै जाने कुराको समिक्षा गरौं ।”

डोल्मा इम्प्याक्ट फन्डका अधिकारी विद्यावारीधि सिग्देलले विदेशी लगानी ल्याउन विश्व प्रचलित मान्यता अनुसारका प्रतिवेदन खोज्ने बताउँदै पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गरे । कतिपय प्रवर्दक लाईसेन्समात्र बोकेर लगानी खोज्न आउँदा सफल नहुने गरेको उनको भनाई छ । स्थानीय समूदायका समस्यालाई हेर्ने दृष्टिकोणमा पनि फरक बनाउन आवश्यक रहेको औल्याए । “हामी आयोजना बनाउन आफ्नै ढंगले बसेका शान्तरुपमा बसेका अरुको समाजमा छिर्दैछौं । अनि स्थानीयमाथि हामीले पनि त एक खाले हस्तक्षेप गर्दैछौं । खोलै घुमाउन खोज्छौं त्यसको असर उनीहरुले भोगेका समस्या सामान्य कुरा होइन भन्ने बुझौ ।” उनले भने ।

एनएमबी बैंकका सरद तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको अपेक्षा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्