पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा करिव १० लाख भक्तजनले दर्शन गरेका थिए । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको थियो । पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका कोषले जनाएको छ ।
आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर भन्दा टाढा, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा कटेको थियो ।
करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी रहेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएका थिए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करिब १० लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ ।
पशुपतिक्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको त्यहाँका व्यापारीहरुले बताएका छन् । दिउँसो व्यापार बढि भएको तर राति हुलहाल मात्र बढेको चढाउने कुराको व्यापार नभएको बताए । सो हुल प्रहरी सुरक्षाकर्मीले समेत व्यस्थापन गर्न नसकेको व्यापारीले बताएका छन् ।
शिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका भक्तजनको भने गुनासो नै रहेको थियो । बिहान ११ बजेदेखि लाइन बसेकाले करिब ९ घण्टा पछि मन्दिरको दर्शन गर्न पाएको उनीहरुले सुनाए । आधा घण्टामा दर्शन गर्न पाइन्छ भनेर आएको रातिको ८ बज्यो बल्ल पशुपतिनाथको मुल ढोकामा पुग्यौ अब दर्शन गर्न पाइन्छ । यो सब व्यवस्थापन राम्रो नभएकोले पनि हामीले ढिला दर्शन गर्न पाएका हौं भन्ने गुनासो गरेका थिए ।
पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिए । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ ।
पशुपतिनाथ मन्दिरमा मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मङ्गलबार बिहानदेखि लागेको भीड आज बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।
महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो ।













