के हरेक नेपालीले २३ हजार रुपैयाँ सधैं बगलीमै राख्छन् ? यस्तो छ राष्ट्र बैंकको तथ्यांक « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

के हरेक नेपालीले २३ हजार रुपैयाँ सधैं बगलीमै राख्छन् ? यस्तो छ राष्ट्र बैंकको तथ्यांक



काठमाडौं । नेपालमा मानिसहरुले कति पैसा बगलीमा बोकेका छन् होला ? यो अनुमान लगाउन कठीन कुरा हो । हामीलाई थाहा छ, कयौं धनि मान्छेले लाखौं होइन, करोडौं रुपैयाँ पनि घरमै थन्क्याएका छन् । यस्तो पैसा नोट नै निकालेर राखिन्छ । तर गरिबहरुको बगलीमा १०० रुपैयाँ पनि सधैं टिक्दैन ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले चाहीँ त्यसो भन्दैन । केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार गएको असार मसान्तसम्म बजारमा विभिन्न दरका गरी करीब ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका नोट चलनचल्तीमा छन् ।

यसलाई हामीले देशको ३ करोड जनसंख्याले भाग गर्ने हो भने एक जनाको भागमा २२ हजार ७८३ रुपैयाँ पर्न आउँछ । अर्थात् चलनचल्तिमा भएको नगद पैसा ३ करोड नेपालीलाई बराबर बाँड्ने हो भने एकै जनाको खल्तिमा यति धेरै पैसा आउने रहेछ । यसले डिजिटल भुक्तानी प्रबद्र्धन गर्ने बाटोमा रहेको नेपालमा अहिले पनि नगदको चलनचल्ति निकै बढेको देखाउँछ ।

यसलाई नोटको संख्यामा गन्ने हो भने विभिन्न दरका २ अर्ब ७५ करोड ८४ लाख २४ हजार १६४ थान नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै १००० रुपैयाँ दरका ४८ करोड ८६ लाख थान नोट प्रचलनमा छन् । अर्थात् धेरैमान्छेले हजारका नोट नै ज्यादा चलाउँछन् । ठूलो दरका नोट सञ्चित गर्न सजिलो पर्ने भएकाले पनि हजार रुपैयाँका नोटहरु मानिसले बढी प्रयोग गरेको देखिएको हुनसक्छ ।

कहाँ होला करोडौं थान साना नोट ?

बजारमा १ र २ रुपैयाँ दरका साना नोटहरुको कारोबार आजकाल खासै देखिँदैन । तर राष्ट्र बैंकको तथ्यांकमा भने करोडौं थान यस्ता नोटहरु बजारमै घुमिरहेका छन् । केन्द्रिय बैंकले १ रुपैयाँ दरका १६ करोड १० लाख र २ रुपैयाँ दरका ९ करोड २६ लाख थान नोट चलनचल्तीमा रहेको बताएको छ ।

ठूला दरका नोटको प्रयोग सम्पत्ती सञ्चयमा हुने गरे पनि यस्ता १ र २ रुपैयाँ दरका नोटहरु कहाँ होलान् ? यसको खोजि त राष्ट्र बैंकले गरेको छैन । तर केन्द्रिय बैंककै कतिपय अधिकारीहरु यस्ता साना दरका नोटहरु सर्वसारणले आफैं नस्ट गरिदिने गरेको बताउँछन् । ‘हामीले बाटो हिँड्दा पनि साना दरका नोटहरु च्यातेर फालेको, कत्तिले त पोलिदिएको देख्छौं’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘ठूला दरको नोट च्यातिए पनि सुरक्षित राखेर साट्ने, तर साना दरका नोट फालिदिने गरेकाले बैंकको प्रणालीमा यी नोट आउन नसकेको हुनसक्छ ।’

बजारमा भएको यति धेरै नगद पैसा बाहेक पनि राष्ट्र बैंकमा थप नयाँ नोटहरु जगेडामा छन् । गत असारसम्म राष्ट्र बैंकमा ७९ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरका नयाँ नोट मौज्दात रहेको प्रतिवेदनमा उल्लखे छ । तर राष्ट्र बैंकमा भएको यो मौज्दातमा १ र २ रुपैयाँ दरका नोट भने छैन । यसमा ५ देखि १ हजार रुपैयाँ दरका नोटहरु मौज्दातमा रहेको बताइएको छ ।

राष्ट्र बैंकमा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष गत वर्ष नयाँ नोटको मौज्दात करीब ६ गुणा बढेको छ । आर्थिक वर्ष २०७६÷७७ को अन्त्यमा राष्ट्र बैंकमा १३ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको नोट मात्रै मौज्दात थियो । नोट छपाईसम्बन्धी गुरुयोजना अनुसार नयाँ नोट धमाधम छाप्दै गएपछि केन्द्रीय बैंकमा नोट मौज्दात बढेको हो ।

राष्ट्र बैंकले मौद्रिक प्रणालीबाट हटाउने व्यवस्था अनुसार गत आर्थिक वर्षमा विभिन्न दरका १२ अर्ब ५४ करोड रुपैयाँ मूल्य बराबरको पुराना र झुत्रा नोट जलाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्