माथिल्लो त्रिशूली ‘थ्री ए’ व्यावसायिक उत्पादनको तयारीमा « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

माथिल्लो त्रिशूली ‘थ्री ए’ व्यावसायिक उत्पादनको तयारीमा



बेत्रावती / नुवाकोटको किस्पाङ गाउँपालिकाको सिम्लेमा निर्माणसम्पन्न माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएसँगै भदौदेखि व्यावसायिक उत्पादन सुरु हुने भएको छ । ६० मेगावाटजडित क्षमताको यो आयोजनाले पहिलो युनिटबाट गत जेठ २ गते परीक्षण उत्पादन सुरु गरेको थियो । दोस्रो युनिटको पनि परीक्षण उत्पादन साउन १६ गते बुधबार सम्पन्न गरेको छ । परीक्षण उत्पादनमा जडित उपकरणमा कुनै खराबी नदेखिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए । अहिले ७२ घन्टे परीक्षण उत्पादन भइरहेको छ । परीक्षण उत्पादनमा क्रममा आयोजनाको टनेल, टर्वाइनजस्ता भौतिक पूर्वाधार चेकजाँच र उपकरणको क्षमता परीक्षण गरिने बताइएको छ । आयोजनाले परीक्षण प्रक्रिया पूरा गरी एक महिनाभित्र नियमित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने आयोजना प्रमुख जोशीले जानकारी दिए । अहिले पनि परीक्षणका क्रममा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ, तर परीक्षणको क्रममा उत्पादन बन्द र खुल्ने भइरहने प्राविधिकले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गरिएको यो आयोजना ६० मेगावाटको भए पनि सुक्खायाममा समेत ४५ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ । यो आयोजनाबाट उत्पादित विद्युत् काठमाडौंको मातातीर्थमा लगेर राष्ट्रिय प्रसारणमा जोडिने व्यवस्था मिलाइएको छ ।
आयोजनाको कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको छ । आयोजना नेपाल सरकार एवम् प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी) सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।
१७ जेठ ०७१ भित्रमा निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । विवाद सकिएपछि काम सुरु गर्न लाग्दा भूकम्प गयो । भूकम्पले गर्दा आयोजनाको पहुँचमार्गमा क्षति पुगेपछि निर्माण तालिका प्रभावित भएको थियो । आयोजना ९० मेगावाटबाट स्तरोन्नति गर्ने विषयले पनि झन्डै दुई वर्ष समय खेर गएको थियो ।
प्रसारण लाइनको ठेक्का चाइना वाटर एन्ड इनर्जी (सीडब्लूई) ले पाएको थियो । प्रसारण लाइन निर्माणका लागि २ करोड २६ लाख अमेरिकी डलरमा चिनियाँ कम्पनीले २०६७ चैत १३ गते सम्झौता गरेको थियो । प्रसारण लाइनको लम्बाइ ४८ किलोमिटर रहेको छ ।
आयोजनाबाट वार्षिक ४६० दशमलव ४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । कुल विद्युत्मध्ये ४६ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुने भएकाले यसलाई ऊर्जा सन्तुलनका लागि महत्वपूर्ण आयोजना मानिएको छ । आयोजनाबाट आठ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत्को लागत साढे दुई रुपैयाँ प्रतियुनिट हुने प्रारम्भिक अनुमान गरिएको छ । माथिल्लो त्रिशूली ‘थ्री ए’बाट विद्युत् उत्पादन भएर निस्किएको पानी उपयोग गरी माथिल्लो त्रिशूली ‘थ्री बी’ ३७ मेगावाट विद्युत् उत्पादन हुनेछ । ‘थ्री ए’ आयोजनाको निर्माण काम सुरु भइरहेको छ ।
यो आयोजनाका लागि चीनको एक्जिम बैंकले ११ करोड ५७ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिएको छ । वार्षिक १ दशमलव ७५ प्रतिशत ब्याजदरमा उपलब्ध ऋणको म्याद २५ वर्षको रहेको छ । ऋण लिएको पाँच वर्षपछि भुक्तानी सुरु गर्ने गरी आयोजनाका लागि ऋण लिइएको हो ।


प्रतिक्रिया दिनुहोस्