८ बर्षमा एक खर्ब ८१ अर्ब रुपैयाँको सुन आयात, करिब एक लाख २ हजार पुग्यो सुनको मुल्य - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

८ बर्षमा एक खर्ब ८१ अर्ब रुपैयाँको सुन आयात, करिब एक लाख २ हजार पुग्यो सुनको मुल्य



काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको मूल्यसमेत आइतबार १ लाख १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले उचाइ छुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

आयातको अवस्था यस्तो छ ?

नेपालले पछिल्ला ८ बर्षमा एक खर्ब ८१ अर्ब रुपैयाँको सुन आयात गरेको छ । यो रकम चालु आर्थिक बर्षको माघ महिनासम्मको जोडेर हो । २०७१ साउनदेखि चालु आर्थिक बर्ष माघ मसान्तसम्म नेपालीले सुनमा यति ठुलो खर्च गरेका हुन् । हरेक नयाँ आर्थिक बर्षहरुमा सुन आयातको परिणाम बर्षेनी बढेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यस अतिरिक्त अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा सुन भित्रिरहेको छ ।

संसारमा सुनको उच्च माग हुने धेरै कारण छन् । यस मध्ये करिब ५० प्रतिशत गरगहना, ४० प्रतिशत लगानी र १० प्रतिशत औद्योगिक क्षेत्रमा माग छ ।

संसारभरि नै सुनलाई पैसाको रुपमा प्रयोग गर्ने चलन छ । सम्पत्ति सुरक्षित गर्न पनि सुनको प्रयोग गरिन्छ । अर्थात सुनको मात्राको रुपमा सम्पत्ति जम्मा गर्ने गरिन्छ ।

कुन आर्थिक बर्ष कति सुन आयात भयो ?

आर्थिक बर्ष २०७१र७२ मा ६ अर्ब ७९ करोड ६१ लाख २८ हजार रुपैयाँ बराबरको १९ सय ३९ किलोग्राम सुन आयात भएको छ ।

त्यस्तै, आव २०७२र७३ मा १६ अर्ब ७ करोड ९५ लाख १५ हजार रुपैयाँ बराबरको ४ हजार १६५ किलोग्राम सुन आयात भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३र७४ मा २३ अर्ब २३ करोड १६ लाख ३० हजार रुपैयाँको ५ हजार ४५० सुन आयात भएको छ ।

त्यस्तै आव २०७४र७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख ६८ हजार रुपैयाँको सुन आयात भएको तथ्यांक भन्सार विभागमा उल्लेख छ ।

आर्थिक बर्ष २०७५र७६ मा ३४ अर्ब ६३ कारोड ७७ लाख ४९ हजार रुपैयाँको करिब ७ हजार ४९९ किलोग्राम सुन आयात भएको तथ्यांकमा उल्लेख भएको छ ।

विभागले प्रस्तुत गरेको तथ्यांकमा आर्थिक बर्ष २०७६र७७ मा १३ अर्ब ६३ करोड ९९ लाख ७४ हजार रुपैयाँको २ हजार ४२९ किलोग्राम सुन आयात भएको छ ।

आर्थिक बर्ष २०७७र७८ मा २७ अर्ब ४८ करोड ६० लाख ७४ हजार रुपैयाँको ४९ लाख ४४ हजार २४० ग्राम र १ किलोग्राम सुन बाहिर देशबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख गरेको छ ।

चालु आर्थिक बर्ष साउन महिनादेख माघसम्ममा २७ अर्ब ६२ करोड ८२ लाख ९१ हजार रुपैयाँको ६ लाख ४ हजार ३०७ ग्राम सुन आयात गरिसकेको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

अनौपचारिक आयातले नेपालमा भित्रिएको सुनको वास्तविक आकार यो तथ्यांकभन्दा निकै बढी हुनसक्ने भन्सार विभागका अधिकारी बताउँछन् । प्रहरीले लगातार समातेको सुनको अबैध आयातको आँकडाले पनि भन्सार विभागको तथ्यांकमा देखिएभन्दा निकै बढी पैसा नेपालीले सुन किन्न खर्चेको अनुमान गर्न सकिन्छ । त्यसो त, रोजगारी र भ्रमणका लागि विदेश जाने नेपालीले ल्याउने गरगहना र काँचो सुनको परिमाण पनि निकै ठूलो छ । त्यसरी आयात भएको सुनको तथ्यांक सरकारी अड्डासँग छैन । यसले सुनको खपतमा मुलुकले ज्यादै बढी रकम खर्चेको अनुमान गर्न सकिने अर्थ जानकारहरुको भनाई छ ।

मूल्य निर्धारण

संसारको अरु बस्तुजस्तै सुनको मूल्य पनि अर्थशास्त्रको सामान्य नियम आर्थात माग र आपुर्तिको कारण निर्धारण हुने गर्दछ । आपुर्तिको तुलनामा माग बढ्दै जाँदा यसको मूल्य पनि बढ्दै गइरहेको हुन्छ ।

संसारमा यसको आपुर्ति अति नै कम तथा लगभग सधैं उच्च मागको कारण इतिहासमा मूल्य बढेको नै पाइन्छ । छोटो अवधिमा कहिलेकाहीं घट्न पनि सक्छ। लगानीकर्ता, केन्द्रीय बैंक, मेडिकल, औद्योगिक क्षेत्रबाट यसको माग जहिले पनि उच्च नै हुन्छ । अन्तराष्ट्रिय स्तरमा यसको मूल्य निर्धारण लन्डनमा ‘गोल्ड फिक्स’ भन्ने संयन्त्रको माध्यमबाट हुने गर्दछ ।

प्रत्येक दिन स्थानीय समय अनुसार बिहानको १०ः३० र बेलुकाको ३ बजे दिनको दुई पटक सुनको मुल्य अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र यूरो मुद्रामा निर्धारण गरिन्छ । निर्धारणको बेला यसको मूल्य प्रति ‘ट्रोय–आउन्स’ मा व्यक्त गरिन्छ । पछि यसलाई प्रति ग्राममा परिवर्तन गरेर संसार भरि जानकारी गराइन्छ । ३२.१५ ग्राम बराबर १ ‘ट्रोय–आउन्स’ हुन्छ । राष्ट्रिय स्तरमा सुनको मूल्य निर्धारण गर्नको लागि अन्तर्राष्ट्रिय मूल्यमा दुई मुद्राबीचको विनिमय दर र सम्बन्धित देशको आयात करको प्रतिशतलाई जोडेर सम्बन्धित देशको लागि मूल्य निर्धारण गर्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्