३० मिलियन ग्राहकको विश्वाससँगै विश्वव्यापी विद्युतीय गतिशीलतामा एआइअनको बलियो उपस्थिति
काठमाडौं । एआइअनको आधिकारिक वितरक सीजी मोटर्सले नेपालमा विश्वस्तरीय विद्युतीय सवारीको अनुभव प्रदान गरिरहेको जनाएको छ।
विश्वभर ३ करोड (३० मिलियन) सवारी उत्पादनको ऐतिहासिक उपलब्धि हासिल गरेको जीएसी समूहले ग्राहकको विश्वासलाई आफ्नो सफलताको मुख्य आधारका रूपमा लिएको बताएको छ। कम्पनीका अनुसार जीएसी समूहअन्तर्गतको एआइअनले अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन र स्मार्ट ड्राइभिङ अनुभवमार्फत विश्वव्यापी विद्युतीय सवारीको भविष्य निर्माण गरिरहेको छ।
सन् २०२६ को पहिलो छ महिनामा जीएसीका आफ्नै ब्रान्डका सवारीसाधनको निर्यात १ लाख २१ हजार ५ सय इकाइ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशतले बढी हो। कम्पनीले यसलाई आफ्ना उत्पादनको गुणस्तर र विश्वसनीयताप्रति अन्तर्राष्ट्रिय बजारमा बढ्दो विश्वासको संकेतका रूपमा व्याख्या गरेको छ।
अमेरिका, एसिया–प्रशान्त, मध्यपूर्व, अफ्रिका तथा युरोपलगायत प्रमुख बजारमा जीएसीले आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहक आधारलाई निरन्तर मजबुत बनाइरहेको जनाएको छ।
हाल जीएसी समूहको उपस्थिति ११० देश तथा क्षेत्रमा फैलिएको छ। कम्पनीसँग ७४६ बिक्री तथा सेवा केन्द्र, ६ वटा विदेशी उत्पादन संयन्त्र र ९ वटा अन्तर्राष्ट्रिय स्पेयर पार्ट्स गोदाम सञ्चालनमा छन्। अनुसन्धान तथा विकास, उत्पादन, आपूर्ति शृंखला, बिक्री र बिक्रीपछिको सेवासम्म फैलिएको यस विश्वव्यापी संरचनाले एआइअनजस्ता ब्रान्डलाई स्थानीय बजारअनुकूल सेवा र उच्चस्तरीय स्वामित्व अनुभव प्रदान गर्न सहयोग गरिरहेको कम्पनीको दाबी छ।
जीएसी समूहले ३ करोड सवारी उत्पादनको उपलब्धिलाई विश्वभरका ग्राहकको विश्वासको प्रतिफलका रूपमा लिँदै आगामी दिनमा पनि नवीन प्रविधि, गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवामार्फत विद्युतीय गतिशीलताको विकासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।













