हायर पर्चेज कर्जा दिने कम्पनीलाई सञ्चित कोष बनाउन राष्ट्र बैंकको निर्देशन, स्वीकृति विना खर्च गर्न नपाइने « Arthapath.com
१६ माघ २०७८, आईतवार

हायर पर्चेज कर्जा दिने कम्पनीलाई सञ्चित कोष बनाउन राष्ट्र बैंकको निर्देशन, स्वीकृति विना खर्च गर्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले सञ्चित कोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को तेस्रो संशोधन २०७८ जारी गर्दे हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो संशोधन गर्दै कम्पनीले प्रत्येक वर्षको नाफाबाट २० प्रतिशत रकमको चुक्ता पुँजीको दोब्बर नहुँदासम्म छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।

चुक्ता पुँजीको दोब्बर भइसकेपछि हरेक आर्थिक वर्षमा नाफाको १० प्रतिशत रकम उक्त कोषमा छुट्याउनु पर्ने व्यवस्था मिलाएको हो । उक्त सञ्चित कोषमा जम्मा भएको रकम राष्ट्र बैंकको स्वीकृति विना अन्य शीर्षकमा खर्च गर्न नपाइने व्यवस्था नयाँ संशोधनमा गरेको छ ।

राष्ट्र बैंकले उक्त कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी ३० करोड रुपैयाँ तोकेको छ । यसअघि न्यूनतम २० करोड रहेको चुक्ता पुँजीलाई २०७८ असारमसान्तसम्म ३० करोड रुपैयाँ पुर्याउनुपर्ने भएको हो ।

हायर पर्चेज कर्जा दिने कम्पनीहरुले आफ्नो खुद सम्पत्तिको १० गुणा भन्दा बढी ऋण तथा सापटी लिन पाउने छैनन् । यस प्रयोजनको लागि खुद सम्पत्ति भन्नाले चुक्ता पँुजी, स्वतन्त्र कोषहरु र नाफा नोक्सान मौज्दातको कुल रकमलाई बुझाउनेछ ।

कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ ।

अ) कुनै कम्पनीले अर्को कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए त्यस्ता कम्पनीहरु,
(आ) कुनै व्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेड कम्पनीका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा त्यस्ता व्यक्ति, सञ्चालक, सेयरधनी, साझेदार वा प्रोप्राइटरका एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आपूmले पालनपोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनी,

(इ) उपखण्ड (आ) मा उल्लिखित व्यक्तिहरुले एक्लै वा संयुक्तरुपमा अर्को कम्पनीको २५ प्रतिशत वा सो भन्दा बढी सेयर लिएको भए त्यस्ता कम्पनीहरु,

(उ) उपखण्ड (आ) मा उल्लिखित व्यक्तिहरुले एक्लै वा संयुक्त रुपमा अर्को कम्पनीको २५ प्रतिशत भन्दा कम सेयर लिएको भए तापनि त्यस्तो कम्पनीको व्यवस्थापनमा देहायका किसिमबाट नियन्त्रण भएका कम्पनीहरुः– (१) सञ्चालक समितिको अध्यक्ष भई, (२) कम्पनीको कार्यकारी प्रमुख भई, वा (३) कम्पनीको सञ्चालकहरुमध्ये २५ प्रतिशतभन्दा बढी सञ्चालकहरु नियुक्त गरी ।

(ए) एकै समूहका भनी आवद्ध रहेका फर्म, कम्पनी वा त्यस्ता समूहका सदस्यहरु,

(ऐ) उपखण्ड (आ) बमोजिम एउटा ग्राहक वा कम्पनीले अर्को ग्राहक वा कम्पनीलाई जमानत दिएको भए त्यस्ता ग्राहक वा कम्पनीहरु ।
(ओ) फर्म, कम्पनी बाहेक अन्य संस्थाहरुको हकमा सो संस्था सञ्चालन, नियन्त्रण वा व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यक्ति वा निजको एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आपूmले पालनपोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनी ।

त्यस्तै, हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम छ महिना भन्दा बढी अवधिले भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । शंकास्पद तथा खराब वर्गमा वर्गीकरण गरिएका कर्जालाई “निष्कृय कर्जाʺ भनिनेछ र यस्तो अवस्थामा ब्याज रकमको लेखांकन नगद प्राप्तिको आधारमा गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्