उपभोक्ता ठगी गर्ने ६४ व्यावसायिक फर्मलाई कारबाही, ३६ लाख ३० हजार रुपैयाँ जरिवाना « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

उपभोक्ता ठगी गर्ने ६४ व्यावसायिक फर्मलाई कारबाही, ३६ लाख ३० हजार रुपैयाँ जरिवाना



काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपभोक्तालाई ठगी गरेको आरोपमा ६४ वटा व्यावसायिक पसललाई कारबाहीमा परेका छन् । उनीहरुलाई कारवाही गर्दा ३६ लाख ३० हजार रुपैयाँ जरिवाना तिराईएको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको बजार अनुगमनमा एक महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ६४ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कमसल सामान बिक्री गरेको, म्याद नाघेको सामान बिक्री गरेको, बढी मूल्य लिएका लगायतका अन्य कैफियतमा विभागले ६४ व्यवसायीलाई कारबाही गरेको विभागले जनाएको छ ।

कारबाही पर्नेमा खाद्य तथा किराना पसल, पानी उद्योग, तरकारी, सुपरमार्केट, औषधी पसल, सर्जिकल पसल, फलफूल पसल, मास्क उत्पादन र गार्मेन्ट रहेका छन् । विभागले सबै भन्दा धेरै २३ वटा पानी उद्योगलाई कारबाही गरेको छ ।

साउन महिनामा विभागले एक सय ८६ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । सो अवधिमा २० वटा व्यावसायिक फर्मलाई स्पष्टीकरण सोधिएको र ७६ वटा व्यावसायिक फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

विभागले १५ हजार ३ सय ५७ रुपैयाँ बराबरको म्याद नाघेको सामान नष्ट गरेको छ । ७६ वटा व्यावसायिक फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिएको विभागले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्