फाइनान्स कम्पनीको नयाँ ब्याजदर सार्वजनिक, कुन फाइनान्सको कति छ नयाँ ब्याजदर ? « Arthapath.com
३० भाद्र २०७८, बुधबार

फाइनान्स कम्पनीको नयाँ ब्याजदर सार्वजनिक, कुन फाइनान्सको कति छ नयाँ ब्याजदर ?



काठमाडौं । असोज महिनादेखि लागू हुने गरि विभिन्न फाइनान्स संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिना शुरु हुनु भन्दा अगाडि नै वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । फाइनान्स संसथाले निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । तर अधिकांश संस्थाले पुरानै ब्याजदर कायम गरेका छन् ।

अधिकांश फाइनान्स कम्पनीले सार्वजनिक गरेको नयाँ ब्याजदरमा निक्षेपको ब्याज ९ प्रतिशत भन्दा मक छ भने बचत निक्षेपको ब्याजदर ७ प्रतिशतभन्दा कम रहेको छ । यसअघि पनि अधिकांश संस्थाको निक्षेपको ब्याजदर ९ प्रतिशत भन्दा कम नै रहेको थियो ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ३ महिनादेखि २ वर्षसम्मको अवधिका लागि ७.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने भएको हो । फाइनान्सले ३ वर्षभन्दा माथिका मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज दिने भएको हो । अन्य बचत निक्षेपमा ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

बेस्ट फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपअन्तर्गत समायावधिअनुसार ७.७५ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । ९ प्रतिशत ब्याज ३ वर्षमाथिको मुद्दति निक्षेपका लागि हो भने अन्य बचत निक्षेपमा भने ५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने फाइनान्सले जनाएको छ ।

आईसीएफसी फाइनान्सले १ वर्षमाथिको व्यक्तिगत मुद्दति निक्षेपमा ८.५ प्रतिशत ब्याजदर र १ वर्षमुनिको हकमा ८ प्रतिशत तोकेको छ । विभिन्न बचत निक्षेपमा भने यो फाइनान्सले ४ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने जनाएको छ ।

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ८ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज दिने भएको छ । फाइनान्सले २ बर्षमाथिका मुद्दति निक्षेपलाई ९ प्रतिशत ब्याज दिने भएको हो । अन्य निक्षेपमा भने ४.५ प्रतिशतदेखि ६।५ प्रतिशत उपलब्ध गराउने श्री इन्भेस्टमेन्टले जनाएको छ ।

सेन्ट्रल फाइनान्सको मुद्दति निक्षेपमा व्यक्तिगतको हकमा ८ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने भएको छ । संस्थागतको हकमा भने ८ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म ब्याज दिने भएको हो । फाइनान्सले विभिन्न बचत निक्षेपमा ५ देखि ६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

मञ्जुश्री फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । फाइनान्सले विभिन्न बचत निक्षेपमा ६ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर दिने भएको हो ।

रिलायन्स फाइनान्सले व्यक्तिगत र कर्पोरेट मुद्दति निक्षेपमा ७.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । नयाँ ब्याजदरमा बचत निक्षेपमा ४.५ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याज उपलब्ध गराइने भएको हो ।


प्रतिक्रिया दिनुहोस्